धर्मशास्त्र र परमेश्वरको वचन

परिचय

परमेश्वरको वचन भन्ने वाक्यांश नयाँ करारमा करिब ५० पटक उल्लेख भएको छ र इसाई पुस्तकहरूमा, (साहित्यिक रचनाहरूमा), प्रवचनहरूमा र सामान्य भाषणहरूमा त्यसको प्रयोग अनगिन्तीरूपमा हुन्छ। के इसाईहरूले यस वाक्यांशलाई बाइबलजस्तै अर्थ दिने गरी प्रयोग गर्दछन्‌ त? मेरो विचारमा कदापि होइन। के यो कुराले साँच्चै महत्व राख्दछ त? हो, म त्यही कुरामा विश्वास गर्दछु।

बाइबलमा प्रयोग भएका शब्द र वाक्यांशहरूका अर्थहरूलाई हामीले आफ्नो परम्परासँग मिलाउनको लागि आफ्नो इच्छाअनुसार परिवर्तन गर्न सक्दैनौँ। यदि हामी धर्मशास्त्रको प्रेरणा र अधिकारमाथि विश्वास गर्दछौँ भने, बाइबलमा भएका शब्दहरूको लागि जुन अर्थ बाइबलले दिन्छ, हामीले पनि त्यस्तै अर्थ दिने शब्दहरू चलाउनुपर्दछ।

साधारण बोलीचालीमा परमेश्वरको वचन अथवा वचन भन्ने शब्दले बाइबललाई बुझाउने गरिन्छ। बाइबलमा विश्वास गर्ने प्राय: सबै मानिसहरूले यही नामद्वारा परमेश्वरको वचनप्रति सङ्केत गर्ने गर्दछन्‌।

सर्वप्रथम, परमेश्वरको वचन भनेको बाइबल होइन तर यसको अर्थ फरक छ भन्ने कुरा म बाइबलबाट नै देखाउन चाहन्छु। अनि हामी परमेश्वको वचनको साँचो अर्थ के हो भनेर पत्ता लगाउनेछौँ र त्यसपछि धर्मशास्त्रको सही स्थान के हो र यसलाई कसरी प्रयोग गर्नुपर्छ भन्ने कुरा खोजी गर्नेछौँ। यस काममा पवित्र आत्माले हामीलाई समझ र ज्ञान-बुद्धि दिनुभएको होस्‌।

धर्मशास्त्रमा परमेश्वरको वचन

सायद परमेश्वरको वचन भनेको बाइबल हो भनेर बताउने निकटतम खण्ड मत्ती १५ अध्यायको यस खण्ड हुनसक्छ, जुन मर्कूस ७ अध्यायसँग मिल्दोजुल्दो छ। आउनुहोस्‌, त्यहाँ उल्लेख भएको कुरालाई राम्रोसँग हेरौँ।

येशूले तिनीहरूलाई भन्नुभयो: “तिमीहरू पनि किन आफ्ना परम्पराको खातिर परमेश्वरका आज्ञा भङ्‍ग गर्दछौ? किनभने परमेश्वरले भन्नुभएको छ, ‘आफ्ना बुबा र आमाको आदर गर, र बुबा वा आमाको विरुद्धमा दुष्ट कुरा जसले बोल्छ, त्योचाहिँ निश्चय मारिनुपर्छ। तर तिमीहरूचाहिँ भन्दछौ, जसले आफ्ना बुबा वा आमालाई भन्छ, ‘तपाईंले मबाट जे प्राप्त गर्न सक्नुहुन्थ्यो, सो परमेश्वरलाई चढाइएको छ’, त्यसले आफ्ना बाबुको आदर गर्नुपर्दैन। यसरी तिमीहरूले आफ्ना परम्पराको खातिर परमेश्वरको वचनलाई बेकम्मा गराएका छौ।”

सायद, पहिलो दृष्टिमा हामीले यहाँ परमेश्वरको वचन भनेको धर्मशास्त्र नै हो भन्ने अर्थ भेट्टाउन सकौँला। तैपनि राम्रोसँग जाँच गरेपछि यो कुरा पत्ता लगाउँछौँ कि विशेष गरी परमेश्वरले त्यो वचन मोशाद्वारा सबै इस्राएलीहरू र संसारको मानिसहरूलाई भन्नुभएको थियो: “आफ्ना बाबु र आमाको आदर गर।” वास्तवमा भन्ने हो भने येशूले सामान्यरूपमा यस वाक्यांशलाई सम्पूर्ण धर्मशास्त्रलाई बुझाउनको लागि प्रयोग गर्नुभएको थिएन।

परमेश्वरको वचन भनेको धर्मशास्त्र होइन भनेर प्रमाणित गर्ने थुप्रै खण्डहरू बाइबलमा पाउन सकिन्छ, जस्तै: “तिनीहरू सबै जना पवित्र आत्माले भरिए, र तिनीहरूले साहससित परमेश्वरको वचन बोले” (प्रेरित ४:३१), “तिनले शाऊल बारनाबासलाई बोलाएर परमेश्वरको वचन सुन्ने इच्छा गरे” (प्रेरित १३:७), “परमेश्वरको वचन सर्वप्रथम तपाईंहरूलाई नै सुनाउनु आवश्यक थियो” (प्रेरित १३:४६), “... र परमेश्वको वचन विनाडर बोल्नलाई झन्‌ आँटिला भएका छन्‌” (फिलिप्पी १:१४), “तर परमेश्वरको वचन त साङ्‍लामा बाँधिदैन” (२ तिमोथी २:९), “आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो” (यूहन्ना १:१), “अनि वचन देहधारी हुनुभयो र अनुग्रह र सत्यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो” (यूहन्ना १:१४) र “उहाँको नाउँ परमेश्वरको वचन थियो” (प्रकाश १९:१३)। यी खण्डहरूमा जहाँ-जहाँ परमेश्वरको वचन लेखिएको छ, त्यहाँ-त्यहाँ ‘धर्मशास्त्र’ अथवा ‘बाइबल’ भन्ने शब्द राखियो भने कस्तो अचम्मलाग्दो अर्थ निस्कन्छ होला? के तपाईं यस कुरामा सचेत हुनुहुन्छ?

प्रेरित १७:११ लाई ध्यान दिएर हेर्ने हो भने त्यहाँ वचनधर्मशास्त्र भन्ने शब्दहरू एउटै पदमा उल्लेख भएको छ, जसले गर्दा ती दुइ कुराहरू एकै हुन सक्दैनन्‌ भन्ने कुरालाई स्पष्ट पार्दछ : “यहाँका यहूदीहरू थेसलोनिकेकाहरूभन्दा बढी भला थिए किनभने यिनीहरूले पूरा उत्सुकतासाथ वचन ग्रहण गरे, र ती कुराहरू ठीकै त्यस्तै हुन्‌ कि होइनन्‌ भनी दिनहुँ धर्मशास्त्र छानबिन गर्थे।” यहाँ हामी देख्नसक्छौँ कि तिनीहरूले परमेश्वरको वचन ग्रहण गरे अनि धर्मशास्त्र (पुरानो करार बाइबल) अध्ययन गरे। त्यसकारण, यी दुइ कुराहरू कदापि एक हुन सक्दैन भनेर यस पदले प्रमाणित गर्दछ।

हिब्रू भाषामा लेखिएको पुरानो करारलाई तीन भागहरूमा वर्गिकरण गरिएको छ।

नयाँ करारका लेखकहरूले पुरानो करारका खण्डहरूको बारेमा कुरा गर्दाखेरि, तिनीहरूले प्राय: ‘लेखहरू’ भन्ने शब्द प्रयोग गर्दछन्‌, जसलाई पछि सम्पूर्ण पुरानो करारलाई बुझाउने गरी ‘धर्मशास्त्र’ भनी अनुवाद गरियो। तिनीहरूले ‘व्यवस्था’ र ‘अगमवक्ताको पुस्तकहरू’ भन्ने शब्दहरू पनि प्रयोग गरे। तर तिनीहरूले कहिले पनि परमेश्वरको वचन भन्ने वाक्यांश प्रयोग गरेनन्‌, र स्वयम्‌ येशूले पनि त्यसो गर्नुभएन (मत्ती ५:१७-२०, लूका २४:२५-२७ हेर्नुहोस्‌)।

पुरानो करारमा हेर्ने हो भने भजनसङ्‍ग्रह ११९ ले परमेश्वरको वचन भनेको धर्मशास्त्र हो भन्ने विचारलाई समर्थन गरेकोजस्तो देखिन्छ। यसमा भएका १७६ पदहरूमध्ये प्राय: सबैमा यस्ता शब्दहरू पाइन्छन्‌, जस्तै: व्यवस्था, विधि, मार्ग, कानुन, आज्ञा, वचन, विधानहरू, धार्मिक न्याय र आदेश आदि। त्यहाँ उल्लेख भएका व्यवस्था, कानुनहरू र आदेशहरूजस्ता शब्दहरू ‘वचन’सँग समान भएकोजस्तो देखिन्छ तर सम्पूर्ण बाइबल परमेश्वरको वचन हो भनेर प्रमाणित गर्न यी कुराहरू कुनै पनि हालतमा उचित अनि पर्याप्त छैनन्‌।

सारांशमा भन्ने हो भने बाइबलले धर्मशास्त्रलाई अथवा पवित्र धर्मशास्त्रलाई बुझाउँछ र यसको केही भागहरूले व्यवस्था र अगमवक्ताको पुस्तकहरूलाई बुझाउँछ तर बाइबल भनेको परमेश्वरको वचन होइन। शाब्दिकरूपमा केलाउने हो भने बाइबल ग्रीक भाषाको ‘बिब्लिया’ (Biblia) शब्दबाट आएको शब्द हो, जसको अर्थ पुस्तकहरू भन्ने हुन्छ। बाइबलमा भएका पृष्ठहरूलाई अध्ययन गर्ने हो भने उक्त वाक्यांशको फरक अर्थ भेट्टाउँछौँ। पवित्र आत्माद्वारा मौखिकरूपमा प्रेरणा भएको र पक्कै यसमा ईश्वरीय अधिकार छ भन्ने कुरालाई स्वयम्‌ बाइबले पुष्टि गर्दछ र यस किसिमका सत्यतथ्यहरूप्रति मेरो कुनै किसिमको प्रश्न छैन भन्ने कुरामा म जोड दिन चाहन्छु।

परमेश्वरको वचन को साँचो अर्थ

यदि परमेश्वरको वचन भनेको बाइबल होइन भने त्यसको अर्थ के हो त?

वचनको बारेमा परमेश्वरले सधैँ बोल्नुभएको सबैभन्दा ठूलो कुराचाहिँ आफ्नै पुत्र हो। परमेश्वरको वचनको उत्तम अनि उच्च प्रकटिकरण ‘येशू’ हुनुहुन्छ। प्रेरित यूहन्नाले आफ्नो सुसमाचार यसरी लेख्न सुरु गर्नुभयो: “आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो।” त्यही अध्यायमा अलि पछि हामी यसरी पढ्‍दछौँ: “अनि वचन देहधारी हुनुभयो र अनुग्रह र सत्यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो। हामीले उहाँको महिमा देख्यौँ, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तो थियो।” प्रकाश १९:१३ ले येशूलाई यस्तो नाउँ दिएको छ: “... उहाँको नाउँ परमेश्वरको वचन थियो।” हिब्रू १:२-३ र ११:३ मा पनि त्यस्तै कुरा लेखिएको छ: “यी आखिरी दिनहरूमा उहाँ आफ्ना पुत्रद्वारा हामीसँग बोल्नुभएको छ। पुत्रलाई नै उहाँले सबै कुराका उत्ताराधिकारी नियुक्त गर्नुभयो, उहाँद्वारा नै समस्त सृष्टि रच्नुभयो। ... सारा विश्व परमेश्वरको वचनद्वारा सृष्टि भयो।”

परमेश्वरको वचनको सर्वोच्व र केन्द्रीय प्रकटीकरण येशू हुनुहुन्छ। उक्त वचनको अरू सबै प्रकटीकरणहरू उहाँसँग सम्बन्धित छन्‌। परमेश्वरले कुनै एक व्यक्तिद्वारा अर्को व्यक्ति अथवा मानिसहरूलाई केही कुरा बताउनको लागि पनि धर्मशास्त्रमा परमेश्वरको वचन भन्ने वाक्यांश प्रयोग गरिएको पाउँदछौँ, जस्तै: ‘परमेश्वरको वचन मोशाकहाँ आयो’, ‘उजाडस्थानमा हुँदा परमेश्वरको वचन यूहन्नाकहाँ आयो’, ‘इस्राएलीहरूको लागि मलाकीकहाँ परमेश्वरको वचन आयो’ अथवा ‘इस्राएलको लागि आमोसकहाँ आएको परमेश्वरको वचन’ आदि-इत्यादि।

जब परमेश्वर बोल्नुहुन्छ, तब त्योचाहिँ परमेश्वरको वचन हो। पुरानो करारको समयमा अगमवक्ताहरूसँग परमेश्वर प्रत्यक्षरूपमा बोल्नुभयो। तिनीहरूद्वारा उहाँ अरू मानिसहरूका लागि बोल्नुभयो। कुनै विशेष व्यक्तिको जीवनमा अथवा राष्ट्रमा घटेको घटनाहरूद्वारा पनि उहाँ बोल्नुहुन्थ्यो। पवित्र आत्मा मानिसहरूमाथि खन्याइएको ऐतिहासिक घटना अथवा पेन्तिकोसको दिनसम्म त्यस्तै किसिमका कुराहरू भइरहन्थ्यो। त्यस घटनापछि चाहिँ उहाँले चाहनुभएअनुसार विश्वास गर्ने मानिसहरूसँग पवित्र आत्मा परमेश्वर प्रत्यक्षरूपमा बोल्न थाल्नुभयो। अब ती थोरै अगमवक्ताहरू र अगुवाहरूसँग मात्र त्यो ईश्वरीय वार्तालाप सीमित रहेन बरु अब तपाईं र मजस्तो सामान्य मानिसहरूसँग पनि उहाँ बोल्न सक्नुहुन्छ।

मानिसहरूसँग सञ्चार अनि वार्तालाप गर्नको लागि परमेश्वरले कुनै पुस्तकलाई प्रयोग गर्न चाहनुहुन्छ भन्ने धारणा ठीक होइन किनभने यस कुरालाई धर्मशास्त्रले मात्र होइन तर प्रकृति, इतिहास र मानवीय ज्ञान-बुद्धि (तर्क-वितर्क) -ले पनि विरोध गर्दछ। साधारणरूपमा हेर्ने हो भने ‘लेखाइ’ सञ्चार गर्ने राम्रो तरिका होइन किनभने यो प्रक्रिया अचल, गतिहीन र अलचकदार हुन्छ। प्राय: सबै अवस्थाहरूलाई हेर्ने हो भने ‘बोलाइ’ अथवा ‘कुराकानी’ गर्नु नै सञ्चारको राम्रो माध्यम हो। करिब ९०% सञ्चार कुराकानीद्वारा नै हुने गर्दछ। जब कुनै तथ्याङ्‍क अथवा जानकारीलाई स्थाईरूपमा लामो समयसम्म सुरक्षित प्रकारले अभिलेख राख्नुपर्ने हुन्छ, तब लेखाइको माध्यम उपयोगी ठहरिन्छ। लिखितरूपमा राखिएको तथ्याङ्‍क र जानकारीले मानवीय स्मरणशक्तिद्वारा बिर्सने, एक पुस्ताबाट अर्को पुस्तामा जाँदा केही मात्रामा फरक हुँदै जाने अनि वाद-विवाद र अन्यौल सिर्जना हुनसक्ने सम्भावनालाई घटाउँछ।

सञ्चार गर्नको लागि बाइबल परमेश्वरको प्राथमिक माध्यम होइन भन्ने कुरालाई अरू केही ऐतिहासिक तथ्यहरूले स्पष्टसँग बताउँछ। विगतका शताब्दीहरूलाई अवलोकन गर्ने हो भने एकदमै थोरै मानिसहरूसँग मात्र बाइबल उपलब्ध थियो र अहिले पनि सबै इसाईहरूको हातमा बाइबल पुग्न सकेको छैन। आजभन्दा सय वर्षअघि मात्र बाइबल छापिने प्रविधि र प्रक्रियाले तीब्रता पाएको हो, त्योभन्दा पहिले संसारमा बाइबलको सङ्ख्या अति न्यून थियो। पुस्तक छाप्ने प्रविधिको विकास हुनुभन्दा अघि मानिसले व्यक्तिगतरूपमा बाइबल आफ्नो घरमा राख्ने कुरालाई कल्पना पनि गर्न सकिँदैनथ्यो र वास्तवमा त्यतिबेला हस्तलिखित बाइबल ल्याटिन भाषामा मात्र उपलब्ध थियो। अहिले प्राय: सबै शिक्षित विश्वासीहरूको हातमा बाइबल छ तर दुःखलाग्दो कुरा के छ भने त्यसमा अहिलेपनि समस्याहरू छन्‌। आज तपाईं र मेरो हातमा भएको बाइबलमा सुरुमा परमेश्वरद्वारा प्रेरणा भएका शब्दहरू हुबहुरूपमा छैनन्‌ तर लामो समय र विभिन्न भाषाहरूमा अनुवाद हुँदै आएकोले गर्दा यसमा भूल-त्रुटिहरू हुनसक्ने कुरालाई सजिलै अनुमान लगाउन सकिन्छ। जसरी एउटा सानो बालकले आफ्नो मातृभाषा सिक्नसक्छ, त्यसरी असल विद्वान्ले पुरानो समयको भाषा सिक्न सक्दैन। विद्वान्लाई उपलब्ध भएको सीमित सङ्ख्याको पुस्तकहरूद्वारा मात्र उसले पुरानो भाषा सिक्नुपर्ने हुन्छ, तर सानो बालकले चाहिँ निरन्तर आफ्नो आमाले बोलिरहने कुराहरूद्वारा धेरै कुरा सिक्न सक्छ। यद्धपि हामीलाई नेपाली भाषाको राम्रो ज्ञान भएझैँ कुनै भाषा विद्धान्‌लाई ग्रीक र हिब्रू भाषाको राम्रो ज्ञान हुनसक्छ तैपनि बाइबललाई एउटा भाषाबाट अरू भाषाहरूमा ठ्याक्कै मिल्ने गरी अनुवाद गर्नु असम्भव हुन्छ। उहाँले हामीलाई दिनुभएको सुन्दर अनि उत्कृष्ट यो पुस्तकमा परमेश्वरले केही सीमितता राखिदिनुभएको छ किनभने हामीलाई दिनको निम्ति उहाँसँग अझ उत्तम अनि महान्‌ कुरा छ।

म यहाँ यस कुरामा जोड दिन चाहन्छु कि अहिले परमेश्वरले प्राथमिकरूपमा पवित्र आत्माद्वारा मानिससँग प्रत्यक्ष गरी बोल्नुहुन्छ तर त्यो कुरा सुन्नको लागि हामीसँग आत्मिकी कान हुनुपर्दछ। त्यस्तो व्यक्तिले परमेश्वरको सन्देश अरूलाई पनि बाँड्‍न र बताउन सक्छ।

धर्मशास्त्रमा जब पवित्र आत्माको प्रेरणामा प्रेरितहरू र अगमवक्ताहरूले बोले, त्यसबेला तिनीहरूद्वारा स्वयम्‌ परमेश्वर मानिसहरूसँग बोल्दैहुनुहुन्थ्यो। तिनीहरूले बोलेको कुरा सुन्ने मानिसहरूका लागि परमेश्वरको वचन थियो। यदि आज कुनै व्यक्तिले पवित्र आत्माको प्रेरणामा केही कुरा बोल्दछ भने त्यो परमेश्वरले बोल्न चाहुनुभएको कुनै विशेष व्यक्तिको लागि परमेश्वरको वचन हो। जब पवित्र आत्माद्वारा परमेश्वरले प्रत्यक्षरूपमा हाम्रो हृदयमा केही कुरा बोल्नुहुन्छ भने त्यो पनि उहाँको वचन हो।

येशू उजाडस्थानमा हुनुहुदाँ, शैतानले धर्मशास्त्रबाट केही कुराहरू उद्धृत गर्दै उहाँसँग वार्तालाप गर्‍यो। के त्यसलेत्यतिबेला बोलेको कुरालाई परमेश्वरको वचन भन्न मिल्छ त? अवश्य मिल्दैन, त्यो त ‘शैतानको वचन’ थियो। वास्तवमा हामीले बुझ्नुपर्ने र सचेत हुनुपर्ने कुरा के हो भने यदि कसैले धर्मशास्त्रबाट केही कुरा उद्धृत गर्दछ भने कहिलेकाहीँ सुन्ने व्यक्तिको लागि त्यो परमेश्वरको वचन हुन्छ, कहिलेकाहीँ त्यो केवल मान्छेको साधारण वचन हुन्छ र कहिलेकाहीँ त्यो कुरा शैतानको वचन पनि हुनसक्छ। त्यसैले हामीले यस्तो कुराप्रति सदैव सचेत अनि सावधान हुनुपर्दछ!

प्रख्यात पदहरूबारे नयाँ प्रकाश

परमेश्वरको वचन भनेको स्वयम्‌ येशू हुनुहुन्छ र परमेश्वरले बोल्नुभएको कुरा पनि परमेश्वरको वचन हो। यस बुझाइद्वारा अब हामी धर्मशास्त्रको केही चिरपरिचित तथा प्रख्यात खण्डहरूलाई नयाँ प्रकाशद्वारा हेर्नेछौँ। म यहाँ केही खण्डहरूबारे चर्चा गर्नेछु र यसको सहायता र प्रकाशद्वारा अरू खण्डहरूको अर्थ तपाईंले नै पत्ता लगाउन सक्नुहुनेछ।

“मानिस रोटीले मात्र होइन, तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले जीवित रहँदछ” (मत्ती ४:४)।

प्राथमिकरूपमा हेर्ने हो भने यो पद येशूको निम्ति लागू हुँदछ। आउनुहोस्‌, उहाँले भन्नुभएको कुराहरूसँग यसले कसरी मेल खान्छ भनेर हेरौँ। उहाँले यसो भन्नुभयो: “म जीवनको रोटी हुँ ..., स्वर्गबाट ओर्लिआएको जिउँदो रोटी म नै हुँ। कसैले यो रोटी खायो भने त्यो सधैँभरि जिउनेछ..., हामीलाई आज दिनभरिको लागि रोटी दिनुहोस्‌।” हामी यो कुरामा विश्वास गर्दछौँ कि येशू आत्मिकी रोटी हुनुहुन्छ, जसलाई खाएर हामी जीवित रहन्छौँ। जब परमेश्वर हामीसँग बोल्नुहुन्छ, तब हामीले जीवन पाउँदछौँ। “जससँग पुत्र हुनुहुन्छ, त्यससँग जीवन छ, जससँग परमेश्वरका पुत्र हुनुहुन्न, त्यससँग जीवन हुँदैन” (१ यूहन्ना ५:१२)।

बेलायतमा ‘दैनिक रोटी’ भन्ने क्रमवद्ध तरिकाले बाइबल पढ्‍न सहायता गर्ने प्रख्यात पुस्तिका छ। त्यस पुस्तिकाको नाउँले ‘बाइबल हाम्रो आत्मिकी भोजन हो’ भन्ने अर्थतिर सङ्‍केत गर्दछ। मानिसहरूले बाइबललाई परमेश्वरको वचन भन्ने गरेकोले नै त्यो पुस्तकको नाउँ राखिएको हुनसक्छ। दुःखलाग्दो कुरा के हो भने धेरै मानिसहरूले प्रत्येक दिन विश्वासयोग्य तरिकाले बाइबल पढ्‍ने गर्दछन्‌, तर तिनीहरूले त्यसबाट खाँदैनन्‌ किनभने येशूमा रहेर कसरी खाने भन्ने कुरा तिनीहरूले कहिले पनि सिकेका हुँदैनन्‍। यस विषयमा स्वयम्‌ येशूले यसो भन्नुहुन्छ: “तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ, किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी तिमीहरू ठान्छौ। मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन्‌, तापिन तिमीहरू जीवन प्राप्त गर्न मकहाँ आउन इन्कार गर्छौ” (यूहन्ना ५:३९-४०)। फरिसीहरूले बाइबल राम्रोसँग पढ्‍ने गर्दथे र त्यसबाट तिनीहरूले अरूहरूलाई सिकाउने पनि गर्दथे तर येशूले ‘जबसम्म तिमीहरूले मेरो शरीर खादैनौ र मेरो रगत पिउदैनौ, तिमीहरूमा जीवन हुनेछैन’ भन्नुहुँदा तिनीहरू अप्रसन्न भए। बाइबल पढ्‍नु र अध्ययन गर्नु राम्रो हो तर बाइबललाई येशूको स्थानमा राख्नुचाहिँ मूर्तिपूजा गर्नुजस्तै हो।

अर्को कुरा के हो भने पवित्र आत्माको प्रेरणामा कुनै वचन बोलिन्छ भने त्यहाँ यो पद लागू हुन्छ। जसले त्यो सुन्छ, तिनीहरूले त्यसबाट खानेछन्‌ र तिनीहरूको भोजनचाहिँ परमेश्वरको वचन हुनेछ।

वृद्धि हुनको लागि भोजन अति आवश्यक तथा महत्वपूर्ण कुरा हो। एफिसी ४ अध्यायमा हेर्ने हो भने ख्रीष्टको शरीर निर्माण गर्दै लैजानको निम्ति परमेश्वरले प्रदान गर्नुहुने पाँच किसिमको सेवकाइहरूका बारेमा त्यहाँ चर्चा गरिएको छ। आत्मिकी बालकहरूलाई परमेश्वरको वचन खुवाएर बलियो अनि परिपक्व बनाउँदै लैजानको निम्ति प्रेरितहरू, अगमवक्ताहरू, गोठालाहरू, शिक्षकहरू र प्रचारकहरूको खाँचो पर्दछ। जसरी एउटा सामान्य बालकलाई हुर्काउनको निम्ति दुधबाट सुरु गरेर कडा अथवा ठोस खाने कुराहरू खुवाउँदै लैजुनुपर्दछ, त्यसैगरी आत्मिकी बालकहरूलाई हुर्काउँदै परिपक्व बनाउनको लागि परमेश्वरको वचनबाट खुवाउनुपर्दछ। जबसम्म बालक परिपक्व भएर आफै खानसक्ने हुँदैन, तबसम्म खुवाउने प्रक्रियालाई निरन्तरता दिनुपर्दछ।

“परमेश्वरको वचन जीवित र क्रियाशील हुन्छ, र कुनै पनि दुईधारे तरवारभन्दा बढी धारिलो हुन्छ” (हिब्रू ४:१२)।

आउनुहोस्‌, यस पदलाई हामी ध्यान दिएर हेरौँ। वास्तवमा यस पदले येशूतर्फ सङ्‍केत गर्दछ। उहाँ जीवित हुनुहुन्छ र सबै शक्ति र अधिकार उहाँलाई दिइएको छ। प्रकाशको पुस्तक पढ्‍दै जाँदा, त्यहाँ ‘येशूको मुखबाट धारिलो दुईधारे तरवार निस्कन्छ’ भनी लेखिएको पाइन्छ। उहाँको सामु कोही खडा हुन सक्दैन। यहाँ हामीले बुझ्नुपर्ने अर्को कुरा के हो भने जब हामी पवित्र आत्माको प्रेरणाद्वारा केही कुरा बोल्दछौँ भने ती शब्दहरू जीवित, क्रियाशील र शक्तिशाली भएर मानिसहरूको हृदयमा प्रवेश गर्दछ। केवल धर्मशास्त्रको खण्डहरू उद्धृत गरेर मानिसहरूलाई बताउनु भनेको परमेश्वरको वचन बोल्नु होइन।

“मेरो वचन ... त्यो मकहाँ व्यर्थै फर्कनेछैन, तर मैले इच्छा गरेको काम त्यसले पूरा गर्नेछ ...” (यशैया ५५:११)।

यो पदमा लेखिएको कुरा अचम्म प्रकारले येशूमा पूरा भयो। उहाँ पिताको उपस्थितिबाट निस्केर मानिसको रूपमा यस संसारमा आउनुभयो, दुःख-कष्ट भोग्नुभयो, क्रूसमा बलिदान हुनुभयो र फेरि बौरी उठ्‍नुभयो। अनि उहाँ खाली हात पिताकहाँ फर्कनुभएन तर आफ्ना दाजुभाइ तथा दिदीबहिनीहरूको ठूलो भीडलाई आफूकहाँ लैजाने प्रवन्ध मिलाउनुभयो।

जब कुनै व्यक्तिले परमेश्वरको वचन बोल्दछ, तब त्यो व्यर्थमा जानेछैन तर त्यसले परमेश्वरको इच्छालाई पूरा गर्नेछ भन्ने कुरामा हामी निश्चित हुनसक्छौँ। केही परमेश्वरका विश्वासयोग्य सेवकहरूले पवित्र आत्माको प्रेरणामा परमेश्वरको वचनद्वारा मानिसहरूलाई सुसमाचार प्रचार गर्दछन्‌, र यो काम गर्नु भनेको बाइबल, सुसमाचारीय पर्चा र अन्य इसाई साहित्यसम्बन्धी पुस्तक-पुस्तिकाहरू वितरण गर्नुभन्दा अवश्य पनि ठूलो हो किनभने तिनीहरूले परमेश्वरको वचनद्वारा उहाँको इच्छालाई पूरा गर्दछन्‌। बाइबल र सुसमाचारीय पर्चाहरू बाँड्नु राम्रो हो तर परमेश्वरको वचन बोल्नु र घोषणा गर्नु भनेको अझ ठूलो किसिमको सेवकाइ हो।

“परमेश्वरको जीवित र नित्य रहने वचनद्वारा, विनाशी होइन तर अविनाशी वीर्यबाट तिमीहरू नयाँ गरी जन्मेका छौँ” (१ पत्रुस १:२३) ।

जब गब्रिएल स्वर्गदूतले मरियमकहाँ आएर परमेश्वरको वचन बोले तब तिनीद्वारा येशूको जन्म भयो। जब येशू अर्थात्‌ परमेश्वरको वचन हामीमा आउनुहुन्छ तब हामीले नयाँ जन्म पाउँदछौँ। कुनै व्यक्तिले नयाँ जन्म पाओस्‌ भन्ने हेतुले परमेश्वरले साधरणतया कुनै मानिसलाई उहाँको सन्देशवाहकको रूपमा ‘परमेश्वको वचन’ बोल्नको निम्ति प्रयोग गर्नुहुन्छ। यशैयाको पुस्तक पढ्‍दा बुझ्न नसकेर अलमल्ल परेका इथियोपियाको नपुंसकलाई सहायता गर्नको लागि पवित्र आत्माले फिलिपलाई तिनीकहाँ लैजानुभयो। फिलिपले उसलाई येशूको बारेमा प्रचार गरे र तिनले उहाँमाथि विश्वास गरे। केही मानिसहरूले कुनै मानवीय मध्यस्थकर्ताविना नै परमेश्वरको वचनको प्रत्यक्ष प्रकटीकरणद्वारा नयाँ जीवन प्राप्त गर्दछन्‌ तर त्यस्ता केही अपवादका घटनाहरूलाई हामीले परमेश्वरले काम गर्ने साधारण तरिका हो भनी विचार गर्नुहुँदैन।

“पवित्र आत्माको तरवार लेओ, जोचाहिँ परमेश्वरको वचन हो” (एफिसी ६:१७)।

यहाँ चर्चा गरिएको आत्माको तरवार भनेको एक प्रकारको आत्मिकी हतियार हो। यही पदको आधारमा केही मानिसहरूले बाइबललाई आत्मिकी हतियार ठानेर जहाँ गए पनि सधैँ साथमा बोक्ने गर्दछन्‌। अरू केही मानिसहरूले चाहिँ बाइबलको खण्डहरूलाई घरको भित्ताहरूमा लेखियो भने दुष्टको शक्तिहरूबाट सुरक्षा मिल्दछ भनी विश्वास गर्दछन्‌। विश्वासीहरूको हृदयमा विद्यमान यस किसिमका धारणाहरूलाई सत्यताको रूपमा स्वीकार गर्नुभन्दा बरु त्यसलाई डर-त्रासबाट उब्जिएको अन्धविश्वास हो भनी मान्न सकिन्छ। साँचो आत्माको तरवार भनेको पवित्र आत्माको प्रेरणाद्वारा हाम्रो ओठबाट निस्कने परमेश्वरको वचन हो। यो हाम्रो लागि परमेश्वरले दिनुभएको आक्रमण गर्ने हतियार हो, जसको सामु दुष्टको कुनै पनि शक्ति खडा हुन सक्दैन। जब येशूले बोल्नुहुन्थ्यो, तब अन्धकारको सबै शक्तिहरू डराएर भागेको कुरा हामी धर्मशास्त्रमा देख्दछौँ। जब हामीले पनि उहाँले जस्तै गरी बोल्न सिक्छौँ, तब त्यस्तै किसिमको नतिजाहरू देख्नेछौँ।

मूर्तिपूजा

रोमन क्याथोलिकहरूले मरियमलाई दिइएका स्थान र प्रोटेस्टेण्टहरूले बाइबललाई दिइएका स्थानको तुलना गर्नु ठीक हो। सौभाग्यवश मरियमले परमेश्वरको मुक्तिको योजनामा विशेष प्रकारले सुन्दर अनि अचम्मको स्थान पाइन्‌। तिनीद्वारा येशू संसारमा आउनुभयो र अर्को अर्थमा भन्ने हो भने तिनीविना उहाँ कहिले पनि शरीरमा हाम्रो माझमा आउन सक्नुहुने थिएन। तर त्यसो भयो भन्दैमा मरियमलाई येशूको साथैमा राखेर तिनको आराधाना गर्नु र तिनलाई मुक्तिको मध्यस्थकर्ताको रूपमा हेर्नुचाहिँ मूर्तिपूजा गर्नु हो। येशू मात्र आराधनाको योग्य हुनुहुन्छ। संसारमा भएका पुस्तकहरूमध्ये बाइबल विशेष अनि पृथक छ र ती सबै पुस्तकहरूभन्दा यो उच्च छ। यदि हामीले बाइबललाई येशूको नाउँ दिएर उहाँको स्थानमा राख्दछौँ भने मूर्तिपूजा गरेकोमा हामी दोषी ठहरिन्छौँ। अनि अरू किसिमको मूर्तिपूजाले जस्तै यसले पनि हाम्रो आत्मिकी वृद्धि र परिपक्वतातिर बढ्‍दै जाने प्रक्रियालाई रोक्दछ। त्यसैले हामीले परमेश्वरको योजनाअनुरूप धर्मशास्त्रको स्थान र उद्देश्यलाई पत्ता लगाउनुपर्दछ र यदि हामी सत्यको मार्गमा हिँड्‍न र परमेश्वरमा बढ्‍न चाहन्छौँ भने त्यस कुरालाई सही प्रकारले प्रयोग गर्नुपर्दछ।

धर्मशास्त्र

हाम्रो जीवनमा परमेश्वरको वचनको स्थान र त्यसले गर्ने कामको बारेमा बुझिसकेपछि अब हामीले धर्मशास्त्रको स्थानको बारेमा विचार गर्नुपर्दछ। यस विषयमा पावलले तिमोथीलाई लेखेको दोस्रो पत्रमा चर्चा गरेका छन्‍: “सम्पूर्ण पवित्र-शास्त्र (अथवा पुरानो करारको लेखहरू) परमेश्वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालिम दिनलाई लाभदायक हुन्छ, ताकि परमेश्वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्जित भई सिद्ध भएको होस्‌” (२ तिमोथी ३:१६-१७)। यी पदहरूलाई सामान्य रूपले स्वीकार गर्ने मात्र होइन तर यसलाई सावधानीका साथ विचार गरी अध्ययन गर्नुपर्दछ।

पावलले यहाँ धर्मशास्त्रलाई परमेश्वरले दिनुहुने विशेष किसिमको औजारको रूपमा हेर्दछन्‌। उनको भनाइअनुसार धर्मशास्त्र भनेको मानिसहरूको माझमा सेवकाइ गर्नको निम्ति परमेश्वरले हामीलाई दिनुहुने औजार अथवा विशेष उपकरण हो। पावलले यो पत्र विश्वासीहरूका समूहलाई होइन तर एक विशेष अगुवालाई लेखेका थिए भन्ने कुरा हामीले बुझ्नुपर्दछ। पावलले लेखेका सबै पत्रहरूलाई केलाउने हो भने धर्मशास्त्र अध्ययन गर्नको निम्ति उनले साधारण विश्वासीहरूलाई उपदेश दिएको कहीँ पनि पाइँदैन बरु प्रार्थना गर्नको निम्ति हौसला दिएको कुराचाहिँ केही ठाउँहरूमा पाइन्छ। तिमोथी भन्ने व्यक्ति मानिसहरूको माझमा सेवकाइ गर्ने अगुवा भएको कारणले गर्दा धर्मशास्त्रको ज्ञानले तिनलाई परमेश्वरप्रति समर्पित भएर उहाँको काम गर्नको निम्ति ठूलो फाइदा पुग्दथ्यो।

धर्मशास्त्रको चार वटा प्रयोगहरूको बारेमा हामीले भरखरै हरेको पदमा चर्चा गरिएको छ। अब हामी त्यहाँ उल्लेख भएका कुराहरूलाई क्रमैसँग हेर्नेछौँ।

१. शिक्षा दिनको लागि धर्मशास्त्र लाभदायक छ। बाइबलबाट शिक्षा दिनु तिमोथीको काम थिएन। फरिसीहरू त्यो काम राम्रोसँग गर्नको निम्ति सक्षम थिए। धर्मशास्त्र अध्ययन गर्नाले आफूले वास्ता अनि सेवकाइ गरिरहेका मानिसहरूको लागि परमेश्वरबाट आउने प्रकाश र समझ प्रदान गर्दथ्यो। तिनीहरूलाई आत्मिकी सत्यता प्रदान गर्नको निम्ति तिमोथीले धर्मशास्त्रलाई एक माध्यमको रूपमा प्रयोग गर्न सक्दथे। यदि परमेश्वरबाट हामीले ग्रहण गरेको कुराहरू अरू मानिसहरूलाई बाँड्‍नको निम्ति परमेश्वरले तपाईं अथवा मलाई बोलावट दिनुहुन्छ भने, हामीले त्यसबेला बाइबललाई एक माध्यम अथवा औजारको रूपमा प्रयोग गर्नसक्छौँ।

सिकाउनको लागि धर्मशास्त्रलाई प्रयोग गर्न सकिन्छ भन्ने कुराबारे हिब्रूको पत्रले हामीलाई स्पष्ट उदाहरणहरू दिँदछ। त्यहाँ हामी के देख्दछौँ भने पुरानो करारभन्दा नयाँ करार श्रेष्ठ छ, र पुरानो करारमा उल्लेख गरिएका सबै व्यक्तिहरूभन्दा येशू अति उच्च स्थानमा हुनुहुन्छ भन्ने कुरा देखाउनको लागि उक्त पत्रको लेखकले पुरानो करारका एक खण्डपछि अर्को खण्ड अनि एक व्यक्तिपछि अर्को व्यक्तिको बारेमा क्रमैसँग चर्चा गरेका छन्‌। परमेश्वरबाट आफूले प्राप्त गरेको प्रकाशहरूलाई प्रस्तुत गर्न र तिनीहरूलाई पक्कारूपमा प्रमाणित गर्न पावलले पनि रोमी र गलातीहरूलाई लेखेका पत्रहरूमा धर्मशास्त्रको व्यापकरूपमा प्रयोग गरेका छन्‌। हामीलाई थाहा भएसम्म पुनरुत्थानपछि जब येशू इम्माउसको बाटोमा दुईजना चेलाहरूको सामु प्रकट हुनुभयो, त्यसबेला मात्र उहाँले धर्मशास्त्रलाई त्यसरी चलाउनुभयो।

२. अर्ती दिनको लागि धर्मशास्त्र लाभदायक छ। जब उजाड स्थानमा येशूले शैतानसँग भेट गर्नुभयो, त्यसबेला हामी यसको अति सपष्ट उदाहरण देख्दछौँ। त्यतिबेला शैतानले उहाँलाई परीक्षामा पार्न कोसिस गर्दा पुरानो करारमा उल्लेख भएका धर्मशास्त्रको खण्डहरू उद्धृत गरेर उहाँले त्यसको सामना गर्नुभयो र त्यसलाई हराउनुभयो। धर्मशास्त्र लिखितरूपमा भएको कारणले गर्दा यसलाई परिवर्तन गर्न सकिँदैन, त्यसकारण यसलाई कानुनी दस्ताबेजको रूपमा प्रयोग गर्न सकिन्छ। के येशू साँच्चै परमेश्वरको पुत्र हुनुहुन्छ त? अथवा के उहाँले पवित्र आत्माको अगुवाइ पाउनुभएको छ? शैतानले यस्ता प्रश्नहरू येशूलाई सोध्न सक्यो तर जे कुरा धर्मशास्त्रमा लेखिएको छ, त्यसमाथि त्यसले तर्क-वितर्क गरेर विजय पाउन सकेन!

३. सच्याउनको लागि धर्मशास्त्र लाभदायक छ। आफूलाई विरोध गर्नेहरूको गलत विचार र धारणालाई सच्याउनको लागि कहिलेकाहीँ येशूले धर्मशास्त्रको प्रयोग गर्नुभयो। शबाथ दिनलाई कडाइका साथ पालन गर्नुपर्छ भन्ने फरिसीहरूलाई सच्याउनको निम्ति उहाँले राजा दाऊदले लेख्नुभएको खण्ड उद्धृत गर्नुभयो। पुनरुत्थानको घटना हुनेछ भन्ने कुरा बुझाउनको लागि उहाँले सदुकीहरूलाई पुरानो करारबाट उक्त कुरा देखाइदिनुभयो। यस्तै प्रकारले गलातीहरूको लागि पावलले लेखेको पत्रमा पनि हामी सच्याउने कुराहरू पाउँदछौँ। ‘विश्वासद्वारा धर्मी ठहरिन्छ’ भन्ने कुरा बुझाउनको लागि उनले अब्राहामको उदाहरणद्वारा प्रमाणित गरिदिएका छन्‌। अर्ती दिने कुराको साथै सच्याउने कामको लागि धर्मशास्त्रले हामीलाई ठोस अनि वैधानिक आधार प्रस्तुत गर्दछ। जब मानिसहरूले हामीलाई ‘मैले त विशेष किसिमको अगुवाइ र प्रकाशहरू पाएको छु’ भनी भन्दछन्‌ भने तिनीहरूको कुरा सही अनि साँचो हो कि होइन भनी हामीले जाँच गर्नुपर्दछ। त्यस प्रकारका कुराहरूलाई जाँच्नको निम्ति धर्मशास्त्रले हामीलाई ठोस मापदण्द प्रदान गर्दछ।

४. धार्मिकतामा तालिम दिनलाई धर्मशास्त्र लाभदायक छ। ग्रीक बाइबलमा हेर्ने हो भने यस खण्डमा ‘पाइडैया’ (Paideia) भन्ने शब्द प्रयोग गरिएको छ, जुन ‘पाइस’ (Pais) अथवा बालक भन्ने शब्दबाट आएको हो, र यसको प्रार्थमिक अर्थ मानिसलाई बाल्यावस्थादेखि नै तालिम दिनु भन्ने हुन्छ। हामीले यसलाई स्पष्टसँग बुझ्नको लागि योभन्दा अगाडिको पदलाई पढ्‍नु राम्रो हुन्छ: “तिमी बाल्यकालदेखि पवित्र धर्मशास्त्रसँग परिचित छौ, जसले ख्रीष्ट येशूमा भएको विश्वासद्वारा मुक्तिको निम्ति तिमीलाई शिक्षा दिन सक्छ” (२ तिमोथी ३:१५)। तिमोथी अथवा जसको लागि यी शब्दहरू लेखिएको थियो, उनी ईश्वरभक्त परिवारभित्र जन्मिएका तेस्रो पुस्ताका व्यक्ति थिए। पावलले तिनको हजुरआमा लोइस र आमा युनिसको बारेमा चर्चा गरेका छन्‌। शायद ती दुई महिलाहरूले तिमोथीलाई विश्वासयोग्य ढङ्गले धर्मशास्त्र सिकाएको कारणले गर्दा मुक्तिको लागि र साथै उसले गर्न लागेको ठूलो सेवकाइको निम्ति उसको हृदय र समझलाई तयार पारेको हुनसक्छ। तिमोथी लामो समयसम्म निरन्तर पावलको सहकर्मी बनेर सेवकाइ गरे। पावलले लेखेका छ वटा पत्रहरूमा तिमोथीको नाउँ उल्लेख छ जहाँ ती पत्रहरू लेख्नको निम्ति तिनले पावललाई सहायता गरेका थिए। हिब्रूहरूलाई लेखिएको पत्र तिमोथीले लेखेका हुनुपर्छ भनेर केही मानिसहरूले विश्वास गर्दछन्‌। जे भए तापनि उनी सुरुका मण्डलीको महत्वपूर्ण अगुवा हुन्‌ र पावलको सुसमाचारीय कार्यलाई तिनले एफिसी सहरसम्म विस्तार गरे।

तिमोथी र यर्मिया अगमवक्तामा हामी केही चाखलाग्दो समानताहरू देख्दछौँ। योसियाह राजाको समयमा यर्मियाको पिता, हिल्किया पूजाहारी थिए। यिर्मया र तिमोथी दुवै जनालाई जवान अवस्थामा नै सेवकाइको निम्ति बोलावट भएको थियो। यी दुई व्यक्तिहरूमा भएको अर्को समान पक्षचाहिँ के हो भने तिनीहरूको आमा-बुबाले धर्मशास्त्रलाई प्रेम गर्दथे र तिनीहरूले आफ्नो छोरालाई बालक अवस्थादेखि नै त्यसबाट सिकाउँथे। मोशाको जीवनलाई हेर्ने हो भने माथि उल्लेखित कुराहरूको विपरित तिनी मिश्रदेशमा उपलब्ध सबै प्रकारको ज्ञान-बुद्धि पाएर राजदरवारमा हुर्केका थिए। विभिन्न देवी-देवताहरू मान्ने मुलुकको राजपरिवारमा तिनले ४० वर्ष बिताए, अर्को ४० वर्ष तिनले उजाडस्थानमा बिताए र ८० वर्षको उमेरमा बल्ल सही प्रकारको सेवकाइ गर्न सुरु गरे।

प्रत्येक इसाई आमा-बुबाले आफ्ना छोरा-छोरीहरूलाई धर्मशास्त्रबाट शिक्षा दिनुपर्दछ भन्ने मलाई लाग्दछ। बालक अवस्थामा नै मानिसले परमेश्वरको व्यवस्थाहरू सिक्नुपर्दछ। बालकहरूलाई धर्मशास्त्रले बचाउने होइन तर यसले असल ज्ञान-बुद्धि दिएर तिनीहरूलाई मुक्तितिर डोर्‍याउँदै लैजान्छ। पावलले एक ठाउँमा यसो भनेका छन्‌: “व्यवस्था भनेको मानिसलाई ख्रीष्टतिर लैजाने शिक्षक हो।”

बालकहरूलाई मात्र धार्मिकताको तालिम दिनुपर्छ भन्ने कुरा मैले बताउन खोजेको होइन। जुन मानिसहरू आत्मिकरूपमा बालकै छन्‌, तिनीहरूलाई आत्मिकी परिपक्वतामा ल्याउनको लागि त्यसो गरिनु आवश्यक पर्दछ।

दिमाग कि हृदय?

केही मानिसहरू यसरी प्रार्थना गर्दछन्‌: “प्रभु, जुन कुरा मैले आफ्नो दिमागद्वारा बुझेको छु, कृपया त्यसलाई मेरो हृदयसम्म ल्याइदिनुहोस्‌।” यो कुराचाहिँ परमेश्वरको तरिकाभन्दा विपरीत छ। पावलले कलस्सीको मण्डलीलाई यसरी लेखे, “ख्रीष्टको वचन तिमीहरूमा प्रसस्ततासँग वास गरोस्‌...” (३:१६)। तिनले एफिसीको मण्डलीलाई चाहिँ यसो भने, “विश्वासद्वारा ख्रीष्ट तिमीहरूका हृदयमा वास गरून्‌” (३:१७)। यदि परमेश्वद्वारा सिकाइएका विश्वासयोग्य सेवक-सेविकाहरूद्वारा हामीले उहाँको वचन ग्रहण गर्दछौँ भने हामीमा यस्तो कुरा हुनेछ र त्यसपछि हामी परमेश्वर पितासँग नजिक भई घनिष्ठ हुन सिक्नेछौँ। जब उहाँको वचन हाम्रो हृदयमा वास गर्ने कुरा बढ्दै जान्छ, तब हाम्रो लागि धर्मशास्त्रको अर्थहरू खोलिन थाल्नेछ र हाम्रो समझले ज्ञान-बुद्धि प्राप्त गर्नेछ। बालक अवस्थादेखि नै येशू आफ्नो पितासँग नजिक र घनिष्ठ हुनुहुन्थ्यो। जब उहाँ बाह्र वर्षको हुनुहुन्थ्यो, त्यतिबेला उहाँको समझ-शक्ति अथवा ज्ञान-बुद्धि देखेर मन्दिरका शिक्षकहरू छक्क परे। यदि हामी बाइबल बुझ्न चाहन्छौँ भने परमेश्वरतर्फ फर्किनुपर्दछ तर परमेश्वरलाई बुझ्नको लागि बाइबलतर्फ फर्कनुचाहिँ गलत हो। यदि बाइबलको लेखक अथवा परमेश्वर तपाईंको मनमा छैन भने उहाँले लेख्नुभएको पुस्तक तपाईंले कहिले पनि राम्रोसँग बुझ्न सक्नुहुन्न।

आज्ञाहरू र प्रतिज्ञाहरू

अब संक्षेपमा म यसो भन्दछु: बाइबल पढाइद्वारा मानिसहरूको लागि परमेश्वर बोल्ने कुरा उहाँको प्राथमिक तरिका होइन। हाम्रो आत्मिक जीवनको सुरुवातमा उहाँ आफ्ना सेवकहरूद्वारा (प्रेरितहरू, अगमवक्ताहरू, गोठालाहरू, शिक्षकहरू र प्रचारकहरूद्वारा) हामीसँग बोल्नुहुन्छ अनि त्यसपछि अझै बढी मात्रामा पवित्र आत्माद्वारा प्रत्यक्षरूपमा उहाँ हामीसँग बोल्नुहुन्छ।

अब म यहाँ परमेश्वर बोल्नुहुने दुई वटा विशेष तरिकाहरूबारे चर्चा गर्न चाहन्छु। धर्मशास्त्रभरि नै परमेश्वरले विशेष व्यक्ति र मानिसहरूका समूहहरूलाई आज्ञाहरू र निर्देशनहरू दिनुभएको देख्दछौँ। उहाँले करारहरू बाँध्नुभएको र प्रतिज्ञाहरू दिनुभएको घटनाहरू पनि देख्दछौँ, जसमा प्राय: उहाँको आज्ञाहरूलाई पालन गर्ने शर्तहरू उल्लेख भएका छन्‌। कुनै आज्ञाहरू सबैको लागि लागू हुने सामान्य प्रकारका छन्‌, जस्तै: “आफ्नो छिमेकीलाई प्रेम गर।” कुनै आज्ञाचाहिँ कुनै विशेष व्यक्तिको लागि निश्चित किसिमको छ, जस्तै: “तेरो खुट्टाबाट जत्ता फुकाल्‍।” बाइबलमा भएका परमेश्वरको प्रतिज्ञाहरू पनि त्यस्तै किसिमका छन्‌। कुनै प्रतिज्ञाहरू सामान्य प्रकारका छन्‌, जस्तै: “विश्वाससाथ तिमीहरूले प्रार्थनामा मागेको कुरा प्राप्त गर्नेछौ।” कुनै प्रतिज्ञाचाहिँ विशेष व्यक्तिको लागि निश्चित छ, जस्तै:

धेरै मानिसहरूले विश्वाससाथ यो कुरा सिकाउँछन्‌ कि ती सबै आज्ञाहरू र प्रतिज्ञाहरू अथवा कमसेकम ती सामान्य किसिमका आज्ञाहरू र प्रतिज्ञाहरूचाहिँ अहिले हाम्रो लागि हो। धर्मशास्त्रमा भएको यस्ता कुराहरूअनुसार विभिन्न प्रकारका मण्डली र सम्प्रदायहरू निर्माण भएका छन्‌। तैपनि यस विषयमा बुझ्नुपर्ने कुरा के हो भने हामीले धर्मशास्त्रमा यस विषयबारे थोरै मात्र आधारहरू पाउँदछौँ। बाइबलमा यो कुरा निश्चित अनि पक्का छ कि कुनै विशेष व्यक्तिलाई दिइएको आज्ञा अर्को व्यक्तिले पालन गर्न कोसिस गरेन र एउटा व्यक्तिलाई दिइएको विशेष प्रतिज्ञा अर्को व्यक्तिले दाबी गरेन। अर्को कुरा के छ भने पुरानो करारमा उल्लेख भएको दश आज्ञाहरू र अरू केही साधारण आज्ञाहरू र प्रतिज्ञाहरू नयाँ करारमा उद्‍धृत गरिएका छन्‌। तैपनि सामान्य सिद्धान्त यही हो कि परमेश्वर पवित्र आत्माद्वारा बोल्नुहुन्छ, जुन कुरा हामीले पहिले नै बुझिसक्यौँ। यदि उहाँ पवित्र आत्माद्वारा हामीसँग नबोल्नुभएको भए, कुनै पनि आज्ञाहरू पालन गर्न हामीले शक्ति पाउने थिएनौ र उहाँको प्रतिज्ञाहरू ग्रहण गर्ने विश्वास पनि हामीसँग हुनेथिएन।

कुनै समयमा अरू कुनै व्यक्तिलाई दिइएको तर व्यक्तिगतरूपमा तपाईंलाई नदिइएको आज्ञाहरूनाई तपाईंले पालन गर्न खोजेमा, त्यसले तपाईंलाई बन्धन, निराशा र असफलतातिर डोर्‍याउनेछ। त्यस्तै गरी अरूलाई दिइएको प्रतिज्ञाहरू यदि तपाईं दाबी गर्नुहुन्छ भने त्यसले तपाईंलाई परमेश्वरप्रति सङ्‍का गर्ने अथवा आफ्नो लक्ष्य गुमाएर केही प्राप्त गर्न नसकेपछि निराश तुल्याउँछ। अनि तपाईं यसो भन्नुहुनेछ: “अरूको जीवनमा त्यो प्रतिज्ञा पूरा भयो तर किन मेरो जीवनमा त्यो प्रतिज्ञाले केही गरेन?”।

त्यसको मुख्य कारण के हो भने तपाईंले आफ्नो व्यक्तिगत सोच-विचारद्वारा कुनै पनि आज्ञा र प्रतिज्ञा प्राप्त गर्न सक्नुहन्न। वास्तवमा तपाईं परमेश्वरको आज्ञा अनि प्रतिज्ञाहरूलाई आफ्नो हृदयको गहिराइद्वारा प्राप्त गर्नुपर्दछ। अनि मात्र तपाईंले बाइबलमा त्यस्तै प्रकारका आज्ञा र प्रतिज्ञाहरू पढ्‍दैजाँदा त्यसलाई पक्का गर्ने प्रतिध्वनि परमेश्वरबाट पाउनुहुनेछ

निष्कर्ष

अब हामी यस पाठलाई सारंशमा कसरी बुझ्ने त? ‘धर्मशास्त्र’ र परमेश्वरको वचन भनेको फरक-फरक कुराहरू हुन्‌ र यसमा हामी दोधारमा परी अल्मलिनु हुँदैन। यी दुईको फरक-फरक अर्थ र कार्यहरू छन्‌। परमेश्वरको वचन महान्‌ हो, जुन सुरुदेखि नै परमेश्वरसँग थियो। ‘धर्मशास्त्र’ले त्यसको (उहाँको अथवा येशूको) स्थान कुनै पनि हालतमा लिनुहुँदैन। असल कुरालाई गलत ठाउँमा राखियो भने त्यो खराब हुनसक्छ र फलस्वरूप आशिष्‌ सरापमा परिवर्तन हुनसक्छ। बाइबलको बारेमा थुप्रै कुराहरू जानेको तर परमेश्वरको वचनको बारेमा केही पनि नजानेका मानिसहरूद्वारा विगतमा धेरै खराब कुराहरू भएका छन्‌ र अहिले पनि त्यस्तो भइरहेको हुनसक्छ। आउनुहोस्‌, फेरि हामी येशूले आफ्नो हृदयदेखि भन्नुभएको कुराहरूलाई स्मरण गरौँ: “तिमीहरू धर्मशास्त्र खोजी गर्दछौ, किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी तिमीहरू ठान्छौ। मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन्‌, तापनि तिमीहरू जीवन प्राप्त गर्न मकहाँ आउन इन्कार गर्छौ।” आउनुहोस्‌, अब हामी परमेश्वरको वननको ठीक अर्थ पत्ता लगाउन कोसिस गरौँ र त्यसलाई हाम्रो जीवनमा सही स्थान देऔँ। धर्मशास्त्रलाई पनि हामी सही स्थान देऔँ, जुन स्थान स्वयम्‌ धर्मशास्त्रले निर्धारण गरेको छ, जुन स्थान येशू र सुरुका प्रेरितहरूले प्रदान गरेका थिए र जुन स्थान त्यसको लागि हाम्रो हृदयमा परमेश्वरको वचनले प्रदान गर्नुभएको छ।

पृष्ठलेख

म यहाँ येशू अनि सुरुको मण्डलीले गरेका पुरानो करारको केही उद्‍धरणहरूका बारेमा छोटकरीमा चर्चा गर्न चाहन्छु।

केही मानिसहरूले यस विषयमा यसो भन्न सक्छन्‌: “त्यतिबेला नयाँ करार नलेखिएको हुनाले पुरानो करार बाइबलको यी खण्डहरूले हामीलाई अगुवाइ गर्न सक्दैनन्‌।” बाइबल एउटै पुस्तक भएको कारणले गर्दा त्यसको दुबै भागहरूलाई हामीले समान स्थान र महत्व दिनुपर्दछ भन्ने मेरो व्यक्तिगत धारणा छ। जुन दृष्टिकोणले हामी नयाँ करारलाई हेर्दछौँ त्यसरी नै पुरानो करालाई पनि समानरूपमा हेर्नुपर्दछ।

हामीले पहिले नै यस कुरामा चर्चा गरिसक्यौँ कि फरिसीहरूलाई विरोध गर्न र तिनीहरूको सामना गर्ने बेलामा येशूले धर्मशास्त्रको थुप्रै खण्डहरू उद्‍धृत गर्नुभयो तर साधारण मानिहरूको भीड र आफ्ना चेलाहरूलाई शिक्षा दिने क्रममा त्यसको त्यति धेरै प्रयोग गर्नुभएन। उहाँले डाँडाबाट दिनुभएको उपदेशलाई केलाउने हो भने त्यसबेला उहाँले दिनुभएको शिक्षाहरू पुरानो करारको कुराहरूभन्दा विपरीत देखिन्छन्‍। यूहन्नाको सुसमाचारमा उहाँले दिनुभएको अन्तिम उपदेशमा पुरानो करारको कुनै पनि उद्धरणहरू पाइँदैन। पुनरुत्थान हुनुभएपछि इम्माउसको बाटो दुई जना चेलाहरूसँग हिँड्‍दै गर्दा मात्र उहाँले धर्मशास्त्रको बारेमा केही कुरा प्रकट गर्नुभयो।

सुसमाचारका पुस्तकहरूलाई हेर्ने हो भने मत्तीले पुरानो करार धर्मशास्त्रबाट धेरै कुराहरूलाई आफ्नो पुस्तकमा उद्धरण गरेका छन्‌, जसद्वारा ती कुराहरू अवश्य पूरा हुनेछन्‌ भन्ने कुरा तिनी बताउन चाहन्थे। मर्कूस र लूकाले पनि केही मात्रामा त्यसै गरेका छन्‌ तर यूहन्नाको पुस्तकमा त्यस्तो कुरा भेट्टाउन गाह्रो पर्दछ।

प्रेरितको पुस्तकको बारेमा कुरा गर्ने हो भने त्यहाँ पत्रुस, स्तेफनस र पावलले प्रचार गर्ने क्रममा पुरानो करारको खण्डहरूबाट प्रसस्त मात्रामा उद्धरण गरेका छन्‌। येशू नै प्रतिज्ञा गरिएको मसिह हुनुहुन्छ भन्ने कुरा धर्मशास्त्रद्वारा देखाउनु नै तिनीहरूको प्रमुख उद्देश्य थियो।

पावलले लेखेका पत्रहरूलाई हेर्ने हो भने केहीमा उनले धर्मशास्त्र धेरै खण्डहरू उद्धृत गरेका छन् तर केहीमा चाहिँ कम गरेका छन्। एकतर्फ हेर्ने हो भने रोमी र गलातीको पुस्तकहरूमा पुरानो करारको थुप्रै खण्डहरू उद्धरण गरिएका छन्‌ तर अर्कोतर्फ हेर्ने हो भने कलस्सी र थेसलोनिकेको पुस्तकहरूमा त्यस्तो कुनै कुरा पाइँदैन।

हिब्रूको पुस्तक यहूदीहरूका लागि लेखिएको हुनाले नयाँ करारको अन्य पुस्तकहरूभन्दा स्वाभाविकरूपमा यसमा बढी पुरानो करारका खण्डहरू उद्धरण गरिएका छन्‌। पत्रुसले पनि थुप्रै उद्धरणहरू प्रस्तुत गरेका छन्‌, याकूबले थोरै मात्र उद्धरण गरेका छन्‌ र यूहन्नाले आफ्ना पत्रहरूमा एउटा पनि उद्धरण गरेका छैनन्‌। यो कुरा पक्का हो कि नयाँ करारका लेखकहरूमध्ये यहून्ना सबैभन्दा पछिल्लो व्यक्ति हुन्‌। यहूदाले गरेका उद्धरणहरूको बारेमा चाखलाग्दो कुरा के छ भने तिनले जुन पुस्तकहरूबाट दुई वटा खण्डहरू लिएका छन्‌, तिनीहरूलाई अहिल हामी बाइबलमा समावेश गरिएको पाउँदैनौँ । अहिले हामीले पुरानो करार भनेर स्वीकार गर्ने पुस्तकहरूबाट तिनले कुनै पनि उद्धरण गरेका छैनन्‌।

बाइबलको अन्तिम पुस्तक प्रकाशलाई हेर्ने हो भने त्यहाँ केही उद्धरणहरू पाइन्छन्‌, जुन दानिएल, इजकिएल, जकरिया र केही अरू पुस्तकहरूसँग मिल्दो-जुल्दो छन्‌।

यस कुरालाई एउटै चित्रद्वारा प्रकट गरिने हो भने त्यसमा फराकिलो किसिमको विविधतता पाउन सकिन्छ। यस कुराले हामी द्विविधामा पर्नु आवश्यक छैन किनभने त्यसले लेखकहरू र पाठकहरू दुवैको चरित्र र पृष्ठभूमिलाई र त्यसको साथै लेखिएको सन्देशको प्रकृति अथवा विवरणलाई पनि प्रतिविम्वित गर्दछ। यी सबै कुराहरूलाई हामी पवित्र आत्माको अगुवाइ र प्रेरणाद्वारा भएका कुराहरू हुन्‌ भनी भन्न सक्दछौँ।

यो पुस्‍तकलाई रंगिन [Color] छाप्‍ने फाइल

यो पुस्‍तकलाई श्‍याम-स्‍वेत [Black & White] छाप्‍ने फाइल

कसरी छाप्ने