परमेश्‍वरको नाउँ र येशूको नाउँ

परिचय

परमेश्‍वरको नाउँ र येशूको नाउँ बाइबलमा अत्‍यन्‍त गहन विषयहरू हुन्। यी दुबै विषयहरू रहस्‍यपूर्ण छन्, यसलाई बुझ्‍नको लागि हामी नम्र भएर प्रार्थनासहित लागी रहनु पर्दछ। मैले लेखेका कतिपय कुराहरू सजिलै बुझ्‍न नसकिएला तसर्थ पवित्र आत्‍माको प्रकाशको आवश्‍यकता निश्‍चय नै पर्नेछ।

नाउँको मुख्‍य उद्देश्‍य कुनै कुराको चिनारी दिनु हो। हामी फरक-फरक नाउँहरू एउटा व्‍यक्तिबाट अर्को व्‍यक्तिलाई छुट्याउनको निम्‍ति प्रयोग गछौँ, नत्रता हामी कसको विषयमा कुरा गरिरहेका हुन्‍छौँ सो बुझ्‍दैनौँ। धेरै नाउँहरू जस्‍तै: प्रेम, कुमार, शान्‍ति, तारा आदि नेपाली भाषाको साधारण नामहरू हुन् र हामी सबैले यसको अर्थ बुझ्‍छौँ। अङ्‍ग्रेजी भाषामा प्रयोग हुने कतिपय नाउँहरू जस्‍तै: John, Michael, Mary, David, अङ्‍ग्रेजी भाषाको साधारण शब्‍दहरू होइनन्। ती नामहरू हिब्रूबाट आएका हुनाले धेरै मानिसहरूले त्‍यसको अर्थ जान्‍दैनन्।

बाइबलमा भएका नाउँहरू त्‍यसका विशेष अर्थ भएको कारण छानिएका थिए। ती नाउँहरू साधारणतया हिब्रू शब्‍द वा वाक्‍यांश हुन् जसलाई कसैले पनि सजिलै बुझ्‍न सक्‍छन। कतिपटक यी नाउँहरूले आमा-बाबुका अनुभवहरूलाई दर्शाउथ्‍यो। मोशाले आफ्‍नो छोराको नाउँ गेर्शोम अर्थात् “यहाँ प्रवासी” राखे। त्‍यस समय तिनी निष्‍कासित उजाड़ स्‍थानको यात्रामा थिए। यूसूफको अर्थ हो “उहाँले थपिदिनु हुनेछ” यो परमेश्‍वरले तिनलाई अझ धेरै छोराहरू दिऊन् भन्‍ने तिनकी आमा राहेलको प्रार्थना थियो। बेन्‍यामीनको अर्थ हो “दाहिने हातको पुत्र”। अरू नाउँचाहिँ अगमवाणियुक्त थिए। होशेले एउटा छोराको नाउँ लोअम्‍मी राखे जसको अर्थ हो “मेरो प्रजा होइनौ”। येशू नाउँको अर्थ मुक्तिदाता हो। उहाँले मानिसहरूलाई तिनीहरूको पापबाट बचाउनु परेको कारण यो नाउँ पाउनुभयो।

आत्‍मिक क्षेत्रमा नाउँहरूले प्रत्‍यक्ष रूपमा तिनीहरूको चरित्र दर्शाउँछ। नयाँ नियममा हामी “फौज” भन्ने दुष्‍टहरूको बारेमा पढ्छौँ कारण तिनीहरू धेरै थिए। प्रकाशको पुस्‍तकमा “मृत्‍यु” र “अपोल्‍लियोन” (जसलाई ग्रीक भाषामा “विनाशक” भनिन्‍छ) नाउँ एउटा दूतको लागि लेखिएको छ। “शैतान” नाउँको अर्थ हो “शत्रु” वा “विरोधी”। झारफुक र तन्‍त्रमन्‍त्रबाट छुटकाराको अनुभव पाएका धेरै मानिसहरूले तिनीहरूलाई चुनौति दिँदा दुष्‍टले तिनीहरूलाई आफ्‍नो नाउँ बताएको पाइन्‍छ। तिनीहरूले आफ्‍नो नाउँ लोभी वा अभिलाषी दिन्‍छन् जुनचाहिँ तिनीहरूको चरित्रको विवरण हो।

बाइबलमा नाउँका दुई उदेश्‍यहरू छन्- व्‍याख्‍या गर्नु र छुट्याउनु । यो साँस्‍कृतिक भिन्‍नतामा थप हाम्रा आधुनिक नाउँहरूको प्रयोग र बाइबलले प्रयोग गरेको नाउँहरूभन्‍दा पनि अर्को समस्‍या छ। जसरी यशैयाले भने “परमेश्‍वरका विचारहरू हाम्रा विचारहरू होइनन्, न ता उहाँका चालहरू हाम्रा चालहरू हुन्। तर उहाँका विचार र चालहरू हाम्रोभन्‍दा उच्‍च छन्।” यदि हाम्रो मनको परिवर्तन नभएको भए यो भनाइ सत्‍य हुन्‍थ्‍यो। हामी जति धेरै ख्रीष्‍टको मन प्राप्‍त गर्छौं, त्‍यति नै यशैयाको जस्‍तो निराशावादी स्‍वभाव हामीमा कम हुन्‍छ। हामीहरूले परमेश्‍वरको गहिरा कुराहरूलाई मानवीय ज्ञानले बुझ्‍नभन्‍दा ईश्‍वरीय विचारले बुझ्‍न सिक्‍नुपर्छ। स्‍वभाविक मानिसले परमेश्‍वरको आत्‍माका कुराहरू ग्रहण गर्दैन, यो तिनको निम्‍ति मूर्खता हो र बुझ्‍न पनि सक्‍दैन किनकी यो आत्‍मिक रीतिले जाँचिएको हुन्‍छ (१ कोरन्‍थी २:१४)। हामीले परमेश्‍वरको मनलाई बुझ्‍ने हो भने हामीमा पवित्र आत्‍माको प्रकाश अवश्‍य हुनुपर्दछ।

परमेश्‍वरको नाउँ

अब हामी परमेश्‍वरको नाउँको विषयमा विचार गर्नेछौँ। परमेश्‍वरको नाउँको अध्‍यनबाट येशूको नाउँको गहिरो ज्ञानलाई बुझ्‍न सहयोग गर्छ।

यसको लागि प्रस्‍थान ३ अध्‍यायको बलिरहेको पोथ्राको अधि उभिएको मोशाबाट सुरु गर्नु उपयुक्त हुन्‍छ। हाम्रा वर्तमान उद्देश्‍यको लागि भने, हामी ६ पदमा हेर्नेछौँ जहाँ परमेश्‍वरले यी शब्‍दहरू द्वारा आफैलाई परिचित गराउनु भयो, “म तेरा पिताका परमेश्‍वर, अब्राहामका परमेश्‍वर, इसहकका परमेश्‍वर र याकूबका परमेश्‍वर हुँ”। हाम्रा मानवीय विचारअनुसार त परमेश्‍वरले ‘म ब्रह्माण्‍डको सृष्‍टिकर्ता, सर्वशक्तिमान, सर्वज्ञानी, सर्वप्रेमी र सर्वव्‍यापी हुँ र मेरो नाउँ येहोवा हो’ भनी भन्‍नुपर्दथ्‍यो। यो त ज्ञान नभएका मानिसहरूलाई आफ्‍नो परमेश्‍वरको अवधारणाको विषयमा परिचय दिन खोज्‍ने सरल तरिका हो। हामीले बुझेसम्‍म, परमेश्‍वरले न आफ्‍नो कुनै विवरण, न ता कुनै नाउँ दिनुभयो। उहाँले दिनुभएको पहिचान, उहाँकै अनुयायीहरू- अब्राहाम, इसहाक र याकूब उहाँको चरित्र वा विशेषता झल्‍काउने जातिहरू हुन्, यसले हामीलाई परमेश्‍वरको मन र स्‍वभावलाई देखाउँछ। शब्‍दहरू, नाउँहरू र विवरणहरू उहाँको लागि पूर्ण रूपमा अनुपयुक्त छन्। उहाँ आफ्‍ना जनहरूद्वारा वर्णन गरिएको र चिनाइएको छ, अझ स्‍पष्‍टसँग भन्‍नुपर्दा उहाँ आफ्‍नो पुत्रद्वारा प्रकट हुनु भएको छ। पूर्ण रूपमा चिनिनु वा बुझिनु हो भने, उहाँ मानवीय स्‍वरूपमा देखापर्नु आवश्‍यक छ र उहाँ शरीरमा प्रकट हुनुपर्छ।

पुरानो करारमा परमेश्‍वरका धेरै नाउँ र शीर्षकहरूले भरिएको छ, जस्‍तै: सेनाहरूका परमप्रभु, स्‍वर्गका परमेश्‍वर, सर्वोच्‍चका परमेश्‍वर, एल-शद्दाई, सर्व शक्तिमान परमेश्‍वर र अन्‍य नाउँहरू समावेश छन्। मानिसहरूले तिनीहरूको अर्थलाई ज्‍यादै राम्रो र आवश्‍यक विवरणसहित लेखेका छन् तर येशूले त्‍यसो गर्नुभएन बरु उहाँले यसो भन्‍नुभयो, “मलाई देख्‍नेले पितालाई देखेको छ।” तपाईंले कुनै देख्‍न नसक्‍ने कुराको लागि मात्र वर्णन गर्न आवश्‍यकता पर्छ। म तपाईंलाई काठमाडौँ सहरको विषयमा वर्णन गर्न सक्‍छु तर काठमाडौँ कस्‍तो छ भनी अनुभव गर्न चाहानुहुन्‍छ भने तपाईं स्‍वयम् आएर हेर्नुपर्छ।

येशूले मानिसहरूलाई परमेश्‍वरको वर्णन गर्न आवश्‍यक थिएन। उहाँ आफै नै स्‍वयम् विवरण हुनुहुन्‍थ्‍यो, उहाँ आफै परमेश्‍वरको नाँउ, हुनुहुन्‍थ्‍यो र हुनुहुन्‍छ। कुनै व्‍यक्तिको उपस्‍थिति हुँदाहुँदै तपाईं त्‍यस व्‍यक्तिको फोटो एकटक लगाएर हेर्नुहुन्‍न कारण तपाईंसँग फोटोभन्‍दा अझ उत्तम त त्‍यही व्‍यक्ति नै छ।

हामी पोथ्राको विषयतर्फ फर्कौं। आफैलाई अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर भनी परिचित गराईसकेपछि, परमेश्‍वरले मोशालाई फिरउनकहाँ गई इस्राएली जातिलाई मिश्रबाट बाहिर ल्‍याउने आज्ञा दिनुभयो। परिचयको विषयमा अब मोशासँग दुई समस्‍याहरू थिए, पहिलो : “म को हुँ र फिराउनको अघि जाने?” दोस्रो : “तपाईं को हुनुहुन्‍छ?” तिनले परमेश्‍वरलाई भने, “हेर्नोस् म इस्राएलीहरूकहाँ गएर तिनीहरूलाई भन्‍छु, तिमीहरूका पिता - पुर्खाहरूका परमेश्‍वरले मलाई पठाउनुभएको हो, तब 'उहाँको नाउँ के हो त ?' भनेर तिनीहरूले सोधे भने मैले तिनीहरूलाई क भन्‍ने ?”

मोशालाई दिएको परमेश्‍वरको जवाफलाई हामीहरूले बुझ्‍ने हो भने पहिले मोशाको प्रश्‍नको तात्‍पर्य के हो त्‍यो विचार गनुपर्छ। मोशा वहु-धार्मिक सम्‍प्रदायमा हुर्केका व्‍यक्ति थिए। नेपालमा जस्‍तै मिश्र देशमा पनि मानिसहरू विभिन्‍न देवी–देवताहरू मान्‍थे र ती सबै देवी–देवताहरूलाई चिनाउनको निम्‍ति आ-आफ्‍नै नाउँ हुनुपर्दथो। तपाईं सूर्य वा चन्‍द्रमाको विषयमा कुरा गर्न सक्‍नुहुन्‍छ कारण तिनीहरू एक किसिमको र त्‍यसको अस्‍तित्‍व एउटै मात्र छ। ताराहरू असङ्ख्‍य भएको कारण चिन्‍न र छुट्याउनको निम्‍ति हरेकको आ-आफ्‍नै नाउँ हुनुपर्छ। सूर्य, चन्‍द्रको अरू कुनै नाउँ छैन कारण तिनीहरूलाई त्‍यसको आवश्‍यकता नै छैन।

के परमेश्‍वरको कुनै नाउँ छ त ? मोशाको विचारमाचाहिँ थियो। हिजो-आज धेरै मानिसहरूले छ भनी भन्‍छन्। आउनुहोस्, यस विषयमा बाइबलको प्रकाशलाई बुझौँ।

प्रस्‍थान ३:१४ मा परमेश्‍वरले दिनुभएको जवाफ, “मै हुँ, जो म हुँ” भन्‍ने छ। हामी यसलाई “म स्‍वयम् हुँ” भन्‍ने वाक्‍यमा राख्‍न सक्‍छौँ। अर्को शब्‍दमा, परमेश्‍वर मोशालाई भन्‍दै हुनुहुन्‍छ, “तेरो प्रश्‍न गलत छ। मेरो कुनै नाउँ छैन, म एक मात्र परमेश्‍वर हुँ र मलाई नाउँको आवश्‍यकता पर्दैन। म मात्र परमेश्‍वर हुँ, म बाहेक अर्को कुनै परमेश्‍वर नभएको कारण अरू देवी-देवताहरूको भन्‍दा भिन्‍नै नाउँको आवश्‍यकता मलाई छैन, यथार्थमा भन्‍ने हो भने, हुन पनि सक्‍दैन। न ता मलाई पर्याप्‍त रूपमा व्‍याख्‍या गर्न सक्‍ने कुनै नाउँ नै पाउन सकिन्‍छ।”

येशूले आफ्‍नो विशेष प्रार्थनामा यसो भन्‍नुभयो, “तपाईंको नाउँ मैले प्रकट गरिदिएँ” (यूहन्‍ना १७: ६) र “मैले तिनीहरूलाई तपाईंको नाउँ परिचित गराएँ” (यूहन्‍ना १७: २६)। यो मात्र मोशाको प्रश्‍नको वास्‍तविक उत्तर थियो। येशू स्‍वयम् परमेश्‍वरको नाउँ हुनुहुन्‍थो र हुनुहुन्‍छ।

परमेश्‍वर लगातार यसरी भन्‍नु हुन्‍छ, “इस्राएलीहरूलाई तैंले यसो भन्‍नू “म हुँ’ भन्‍नुहुनेले तिमीहरूकहाँ मलाई पठाउनु भएको हो।” यस खण्‍डको अर्थलाई अङ्ग्रेजी भाषाले राम्रोसँग प्रष्‍ट्याउँदैन र यो हिब्रूमा पनि उतिको राम्रो छैन, नेपालीमा त कुनै अर्थ नै लाग्‍दैन। यसरी भाषाको समस्‍याले गर्दा परमेश्‍वरले मोशाको प्रश्‍नको सोझो उत्तर दिनु भएन। त्‍यसपछिका पदहरूमा परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, “तिमीहरूका पिता-पुर्खाहरूका परमप्रभु, परमेश्‍वर अर्थात् अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वरले मलाई तिमीहरूकहाँ पठाउनु भएको हो, मेरो नाउँ सदा यही रहनेछ र सबै पुस्‍तासम्‍म मेरो सम्‍झना यही हुनेछ।” (१५) परमेश्‍वर भन्‍नुहुन्‍छ “मेरो कुनै नाउँ छैन। मानवीय भाषाले मेरो व्‍याख्‍या गर्न सक्‍दैन। म पहिले रगत र शरीरमा देखिनु पर्छ तब आत्‍मामा चिनिनु पर्छ। म बाहेक कुनै अर्को परमेश्‍वर नभएको कारण अन्‍य देवी-देवताहरूभन्‍दा भिन्‍नै देखाउने नाउँको आवश्‍यकता छैन तथापि तत्‍कालको लागि तिमीहरूको सीमित समझलाई विचार गरेर क्षणिक समयको लागि कुनै एउटा नाउँजस्‍तो दिएँ। तिमीहरू पनि आफ्‍ना वरि-परि भएका मानिसहरूजस्‍तै हुनेछौ जसका आफ्‍ना-आफ्‍नै देवताहरू छन्। मलाई चिन्‍नको लागि ‘यहवे’ नाउँ प्रयोग गर्न सक्‍छौ।” परमेश्‍वरको स्‍वभाव भएको एक मात्र परमेश्‍वरका पुत्र हामीलाई उहाँसम्‍मै पुर्‍याउनलाई तल ओर्ली आउने एक विशेष व्‍यक्ति हुनुहुन्‍छ।

मोशाले याकूबको अनुभवबाट केही सिकेको हुनुपर्छ। उत्‍पत्ति ३२ अध्‍यायको अन्‍ततिर स्‍वर्गदूतसँग याकूबले रातभरि कुश्‍ती लडेको कथा छ। अन्‍त्‍यमा स्‍वर्गदूतले तिनको नाउँ सोध्‍नुभयो, तिनले “याकूब” भनी उत्तर दिए “अब उप्रान्‍त तिम्रो नाउँ याकूब होइन इस्राएल हुनेछ, किनभने तिमीले परमेश्‍वर र मानिसहरूसँग लडन्‍त लड्यौ, र विजयी भयौ” भनी स्‍वर्गदूतले तिनलाई भन्‍नुभयो (प्रस्‍थान ३:२८)। तब याकूबले आफ्‍नो एउटा नयाँ परिचय र विवरण पाए। हामीहरूले पनि याकूबले जस्‍तै नयाँ नाउँ पाउनुपर्छ। तब याकूबले भने, “कृपया मलाई तपाईको नाउँ भन्‍नुहोस”(२९) र स्‍वर्गदूतले त्‍यस प्रश्‍नको जवाफ दिनुभएन। “मेरो नाउँ तिमी किन सोध्‍छौ?” मोशाले जस्‍तै याकूबले पनि गलत प्रश्‍न सोधे, तिनले परमेश्‍वरलाई ईश्‍वरीय स्‍तरबाट मानवीयमा स्‍तरमा होच्‍याउन चाहन्‍थे।

शिमशोनका बुबा मानोहलाई स्‍वर्गदूतको दर्शन भयो जसले तिनलाई तिम्री पत्‍नीले छोरा जन्‍माउने छिन्, जो एउटा नाजिरी हुनेछ। बालक हुर्काउने कुराको निर्देशन सुनिसकेपछि मनोहले स्‍वर्गदूतको नाउँ सोधे। तिनले पनि याकूबले पाएको जस्‍तै जवाफ पाए। “यो आश्‍चर्यपूर्ण छ भनी देखेर पनि तिमी किन मेरो नाउँ सोध्‍ने आँट गर्छौ ?”(न्‍यायकर्ता १३:१८)

नाउँको इतिहास

बलिरहेको पोथ्रामा परमेश्‍वरसँग भेट गरेको केही समयपछि नै मोशाले उहाँसँग सीनै पर्वतमा भेटे र दश आज्ञा पाए। तेस्रो आज्ञाचाहिँ “तिम्रो परमेश्‍वरको (यहवह) नाउँ व्‍यर्थैमा नलिनू” भन्‍ने थियो यसको अर्थलाई पछि हेर्नेछौँ तर पहिले यस आज्ञाले यहूदीहरूमा पारेको प्रभावलाई विचार गरौँ। सोझो दृष्‍टिले हेर्दा यहवहको कुनै पनि नाउँ व्‍यर्थमा उच्‍चारण गर्दै नगर्नू भन्‍ने कुरामा एउटा सुरक्षित उपाय छ। त्‍यो नाउँचाहिँ कहिल्‍यै पनि उच्‍चारण नगर्नू र आजको दिनसम्‍म पनि यहूदीहरूले यसै कुराको अभ्‍यास गरिरहेका छन्। तिनीहरू बाइबल पढ्दा जब-जब यहवह लेखिएको भेट्टाउछन् तिनीहरूले त्‍यसलाई “अदोनाई” भनी उच्‍चारण गर्छन् जसको अर्थ - “प्रभु” हो, अथवा तिनीहरू “हा-शेम” भन्‍छन् जसको अर्थ हो- “नाउँ”। मौलिक हिब्रू भाषामा यसरी स्‍वरवर्ण विना नै लेखिनुलाई आश्‍चर्यजनक रूपमा “समकालिन घटना” मान्‍नुपर्छ।

परमेश्‍वरको योजनाअनुसार मौलिक हिब्रू भाषा स्‍वरवर्ण विना नै उक्त शब्‍द लेखिएको थियो। त्‍यो शब्‍द नेपालको सट्टामा ‘नपल’ मात्रै लेख्‍नुजस्‍तो थियो। यहोवा भन्ने नाउँलाई यहवह लेखिएको थियो। त्‍यस कारणले गर्दा यहवह नाउँ न उच्‍चारण गरिन्‍थ्‍यो न ता लेखिन्‍थ्‍यो नै। सम्‍भवत: यसको मौलिक उच्‍चारण कसैलाई पनि थाहा छैन। धेरै समयपछि अदोनाईबाट स्‍वरवर्ण लिएर यहोवा नाउँ बनाइएको हो र यसको मूल श्रोत बाइबलमा पटक्‍कै छैन। यो कुरा बुझ्‍यौँ भने, ‘यहोवाको साक्षीको’ सिद्धान्‍त गलत छ भनेर स्‍पष्‍ट थाहा पाइन्‍छ।

पहिले पुरानो करार हिब्रू भाषामा मात्र उपलब्‍ध थियो। येशूको जन्‍मको २०० वर्ष पूर्व मिश्रमा बस्‍ने सत्तरी जना शास्‍त्रीहरूले त्‍यसलाई युनानी भाषामा अनुवाद गरे। जब ‘यहवह’ नाउँ लेख्‍ने बेला आयो तिनीहरूले त्‍यस शब्‍दको सट्टामा युनानी शब्‍द “कूरिओस्” राखे जसको अर्थ हो- “प्रभु”। पुरानो करारका धेरै पदहरू नयाँ करारमा उद्धृत गरेको पाउँछौँ। त्‍यसैले जब पुरानो करारको ‘यहवह’ नाउँ आउँछ त्‍यसलाई नयाँ करारले ‘प्रभु’ भन्‍ने शब्‍द राखेको पाइन्‍छ। त्‍यहाँ पनि त्‍यसको अर्थ यहवहभन्‍दा कूरिओस नै भएको पाउँछौँ। धेरै अङ्ग्रेजी बाइबलको अनुवादजस्‍तै आधुनिक नेपाली बाइबलले पनि यहवहलाई प्रभु वा परमप्रभु भन्‍ने शब्‍दलाई पछ्याएको छ।

सारांशमा भन्‍नुपर्दा परमेश्‍वरले मोशालाई यहवह नाउँ अस्‍थायी योजनाजस्‍तो दिनुभएको थियो भनी बुझ्‍न सक्‍छौँ। जब त्‍यसको उद्देश्‍य पूरा भयो, उहाँले यसको स्‍मरण तीन तहमा निकाल्‍नु भयो।

(१) उहाँले यहूदीहरूलाई यसको डर मान्‍न दिनुभयो र तिनीहरूले उच्‍चारण गर्ने आटँ गरेनन्।

(२) उहाँले हिब्रू भाषा स्‍वरवर्ण बिना नै लेख्‍ने गराउनु भयो र त्‍यसको उच्‍चारणको विवरण पूर्ण रूपमा रहन सकेन।

(३) त्‍यसको उच्‍चारण अझसम्‍म पनि थाहा नभएकोले उहाँले युनानी वा अरू कुनै भाषामा अनुवाद हुन दिनुभएन।

तेस्रो आज्ञा

अब हामी तेस्रो आज्ञातिर लागौँ-“तिम्रो परमेश्‍वर यहवहको नाउँ व्‍यर्थैमा नलिनू”। प्राय: सबैले यस आज्ञालाई “ईश्‍वर निन्‍दा” नगर्नु भन्‍ने अर्थ लगाएर अनुवाद गर्छन्। यो अनुवादको पछाडि धेरै शताब्‍दीसम्‍म यस्‍तै परम्‍परा छ, तर म यो नै मुख्‍य अर्थ होइन भन्‍ने सुझाव दिन चाहन्‍छु। दश आज्ञाको खण्‍ड “म यहवह तेरो परमेश्‍वर हुँ, जसले तँलाई मिश्र देश अर्थात् दासत्‍वको घरबाट बाहिर निकालेर ल्‍याएँ” भन्‍ने शब्‍दबाट सुरु हुन्‍छ। नाउँ लिनुको अर्थचाहिँ के हो त ? जसरी छोराले आफ्‍नो बाबुको नाउँ लिन्‍छ त्‍यसरी नै इस्राएलीले तिनीहरूका परमेश्‍वरको नाउँ लिनु पर्दथ्‍यो, जुन परमेश्‍वरले मिश्र देशबाट ल्‍याएर तिनीहरूलाई धर्मपुत्र बनाउनु भयो। तिनीहरूले उहाँको प्रतिनिधित्‍व हुनु र उहाँको नाउँ लिनु पर्दथ्‍यो र यो तिनीहरूले व्‍थर्थमा गर्नु हुँदैनथ्‍यो।

आत्‍मिक मिश्रबाट हामीलाई निकाल्‍नका लागि येशूले दु:ख भोग्‍नुभयो र मारिनुभयो। अहिले हामी उहाँको नाउँ लिन्‍छौँ। हामी इसाई हौँ, यसकारण हामीहरूले उहाँको नाउँ व्‍यर्थैमा लिनु हुँदैन।

येशूको नाउँ

महान् सृष्‍टिकर्ता, सम्‍पूर्ण ब्रह्ह्माण्‍डका परमप्रभु, सम्‍पूर्ण मानवीय विवरणको लेखा राख्‍नुहुनेले मानवीय भाषामा एउटा नाउँले परचित हुनु भन्‍ने कुराले उहाँ कति नम्र हुनुहुन्‍छ भन्‍ने कुरालाई बुझाउँथ्‍यो होला त ? जसद्वारा उहाँ चिनाइनु पर्दा अझ महान् नम्रताले साकार रूप पायो। पुरानो करारमा उहाँले नाउँ लिनुभयो, नयाँ करारमा चाहिँ मानवीय देह लिनुभयो। स्‍वर्गदूत गाब्रिएलले यूसुफ र मरियमलाई राम्रो आदेश दिनुभयो, “उहाँको नाउँ येशू राख्‍नु”। नयाँ करारमा एकै पटक मात्र पनि यहवह नाउँ उल्‍लेख भएको छैन तर येशूको नाउँलाई ठूलो महत्त्‍व दिइएको छ।

हामी विश्‍वास गर्नेहरूलाई येशू को हुनुहुन्‍छ भन्‍ने विषयको साधारण ज्ञान छ। उहाँ परमेश्‍वरको पुत्र र संसारको मुक्तिदाता हुनुहुन्‍छ, उहाँ हाम्रा प्रभु, मुक्तिदाता, रोग निको पार्ने र असल मित्र हुनुहुन्‍छ।

अरूहरूलाई यो कुरा स्‍पष्‍ट थाहा छैन। नेपाल लगाएत अरू धेरै देशहरूमा येशू एक विदेशी देवताभन्‍दा बढी महत्त्‍वको छैन। धेरै मानिसहरू, यहाँसम्‍म कि पश्‍चिमी देशहरूमा पनि स्‍थिति राम्रो छैन। तिनीहरूले स्‍कुलमा हुँदा बाइबलका केही कथाहरू सिक्‍छन तर येशू को हुनुहुन्‍छ भन्‍ने विषयमा खास ज्ञान हुँदैन। उहाँको नाउँको उच्‍चारण पनि हरेक जातिको भिन्‍दा-भिन्‍दै किसिमको हुन्‍छ। अङ्ग्रेजीमा उहाँ जीसस, हिब्रूमा येशुआ, स्‍पानिसमा हेसुस छ। चाखलाग्‍दो कुरा त नयाँ करारमा अरू चार मानिसहरूको नाउँ पनि येशू नै थियो। त्‍यसैले येशू नाउँ साधारण थियो र प्रष्‍ट गरी छुट्याउनलाई मानिसहरूले उहाँलाई नासरतका येशू भनी भन्‍थे।

हामीले यसबाट के सिक्‍न सक्‍छौँ त ? परमेश्‍वरको पुत्रको वास्‍तविक नाउँ के हो त ? म विश्‍वास गर्छु, हाम्रो पहिलो प्रश्‍नको उत्तरमा नै यसको जवाफ छ- “परमेश्‍वरको नाउँ के हो ?” आज उहाँ हामीसँग भएजस्‍तै त्‍यस समयमा येशू यस संसारमा हिड्नु हुँदा, जसले उहाँलाई भेटे, परमेश्‍वरको नाउँ र विवरण दिने येशूकै नाउँ थियो। हामीहरू पनि येशूको विवरण र परिचय दिएर संसारको निम्‍ति असल नाउँ भएको व्‍यक्ति बन्‍नुपर्छ। येशूले उहाँका मानिसहरूमा परमेश्‍वरलाई प्रकट गर्नु हुन्‍छ, र उहाँका मानिसले येशूलाई संसारमा प्रकट गर्नुपर्छ। जसरी येशू उहाँका जनहरूमा परमेश्‍वरको नाउँको प्रर्दशन वा परमेश्‍वरको नाउँ हुनुभयो, हामीहरू पनि यस संसारमा येशू नाउँको प्रर्दशन गर्नु र उहाँको नाउँ हुनुपर्छ।

यो अवधारणा सम्‍भवत: नयाँ र बुझ्‍न ज्‍यादै कठिन छ। हामीहरू ख्रीष्‍टका शरीर अथवा पवित्र आत्‍माको मन्‍दिरजस्‍ता विचारसँग ज्‍यादै परिचित छौँ। यी कुरा बाइबलमा स्‍पष्‍टसँग उल्‍लेख गरिएका छन्। हामीलाई धर्मशात्रको केही ज्ञान भएकोले गर्दा परमेश्‍वरको गहिरा सत्‍यतालाई ज्‍यादै हलुकासँग लिन्‍छौ।

हामीहरू येशूको नाउँ बनिनु पर्छ भन्‍ने विचारलाई नयाँ नियममा स्‍पष्‍टसँग उल्‍लेख गरिएको छैन तर धर्मशास्‍त्रका अरू धेरै खण्‍डहरूले प्रकाश पार्छ। अब हामी यी केही खण्‍डहरूमा विचार गर्नेछौँ।

उहाँको नाउँमा बप्‍तिस्‍मा भएको

“उहाँको नाउँमा बप्‍तिस्‍मा लेओ” भन्‍ने वाक्‍यांस नयाँ नियममा धेरै पटक आएको पाइन्‍छ। “उहाँको शरीरमा बप्‍तिस्‍मा भयौँ” भनेर पनि हामी पढछौँ। हामी यी दुई खण्‍डहरूको एउटै अर्थ भएको देख्‍दछौँ। उहाँको शरीर पवित्र पारिएका जनहरू हुन् अर्थात् उहाँको नाउँ उहाँका पवित्र पारिएका जन हुन्। त्‍यसैले उहाँको नाउँ र उहाँको शरीर एउटै हो। दुवै खण्‍डको वचनले पिता र पुत्रको घनिष्‍ट सम्‍बन्‍धको अर्थ दिन्‍छ। परमेश्‍वरको दृष्‍टिमा असली बप्‍तिस्‍माचाहिँ धर्म विधि र मानिसले देख्‍न सक्‍ने अलौकिक अनुभव नभई, परमेश्‍वरसँगको निरन्‍तर अनुभव र हिँडाइ हो। यस प्रकार हामी उहाँसँग एउटा यस्‍तो एकतामा भएकोले उहाँको शरीर र उहाँको नाउँ भनिन सक्‍छौँ।

बप्‍तिस्‍माको विषयमा मत्ती र प्रेरितको पुस्‍तक आपसमा विरोधाभास भएको देखिन्‍छ। मत्ती २८: १९ मा येशूले आफ्‍ना चेलाहरूलाई आज्ञा दिनुभयो, “पिता, पुत्र र पवित्र आत्‍माको नाउँमा बप्‍तिस्‍मा देओ।” प्रेरितको पुस्‍तकमा चेलाहरूले येशूको नाउँमा बप्‍तिस्‍मा दिए। परमेश्‍वरको निम्‍ति नाउँ भन्‍ने कुरा ठीक प्रकारले उच्‍चारण गर्नैपर्ने शब्‍द होइन, यो त पवित्र पारिएको र उहाँका निम्‍ति अलग गरिएका मानिसहरू हुन्। ती मानिसहरूद्वारा पिता, पुत्र र पवित्र आत्‍मालाई संसारमा चिनाइन्‍छ। यसरी अब यी वचनहरू परस्‍पर विरोधाभास नभई, दुबै खण्‍डको एउटै अर्थ भएको देख्‍छौँ।

नाउँको पवित्रकरण

येशूले आफ्‍ना चेलाहरूलाई प्रार्थना गर्दा सिकाउनु भयो, “हे हाम्रा पिता, तपाईंको नाउँ पवित्र गरियोस्, तपाईको राज्‍य आओस्।” करोड़ौँ मानिसहरूले यस प्रार्थनालाई दिनहुँ दोहोर्‍याउछन् तर सबैले यसलाई बुझ्‍दैनन्। अब हामी यसको अर्थलाई अझ स्‍पष्‍टसँग हेरौँ- पवित्र पारिनु पर्ने वा चोख्‍याइनु पर्ने नाउँचाहिँ येशू आफै र उहाँले बोलाउनु भएका व्‍यक्तिहरू थिए। यूहन्‍ना १७ अध्‍यायमा गेतसमनीमा येशू पक्राउ पर्नअघि उहाँले गर्नु भएको प्रार्थनालाई यूहन्‍नाले लेखेका छन्। आफ्‍ना चेलाहरूका निम्‍ति प्रार्थना गर्दै उहाँले यसो भन्‍नुभयो, “सत्‍यले तिनीहरूलाई पवित्र गर्नुहोस्, तपाईंको वचन सत्‍य हो” (१७ पद) र “तिनीहरू पनि सत्‍यतामा पवित्र होउन् भनेर म आफैलाई तिनीहरूका खातिर पवित्र गर्दछु” (१९ पद)। यसरी दुबै प्रार्थनाहरू आफै र आफ्‍ना जनहरूको पवित्रताको निम्‍ति अनुरोध गरेजस्‍तै ठीक एउटै अर्थ लागेको छ।

करोड़ौँ मानिसहरूले दोहोर्‍याउने प्रार्थनालाई यसरी येशूले “तपाईंको नाउँ पवित्र गरिओस्” भनी प्रार्थना गर्नु हुँदा यसको पहिलो याचनाचाहिँ पवित्रतामा उहाँको जनहरूलाई अलग गर्नु थियो र यसैको आधारमा मात्र दोस्रो याचना “तपाईंको राज्‍य आओस्” भन्‍ने कुराले पूर्ण हुनसक्‍थ्‍यो र यसरी जब उहाँका जनहरू पवित्र भएका हुन्‍छन्, तब उहाँको राज्‍य आउँछ।

नाउँहरू, ठाउँहरू, भवनहरू र दिनहरू साँचो अर्थमा कहिल्‍यै पवित्र हुन सक्‍दैन। ती कुराहरू तिनीहरूकै स्‍वभावमा पवित्र हुन सक्‍तैनन्। तिनीहरूले आफ्‍नो उद्देश्‍य र समयअनुसार काम गर्दछन् तथापि तिनीहरू वास्‍तविकताका छाया मात्र हुन्, मानिसहरू मात्र पवित्र हुनसक्‍छन्। पवित्र आत्‍मा मानिसहरूमा आउनुहुन्‍छ र तिनीहरूलाई परमेश्‍वरको निम्‍ति अलग गर्नुहुन्‍छ।

नाउँको प्रशंसा

फिलिप्‍पी २ अध्‍यायले बताएअनुसार येशूले कष्‍ट भोगी, देहान्‍त भएर पुनरुत्‍थानपछि सर्वोच्‍चसम्‍मै पुग्‍नुभएको छ। “परमेश्‍वरले उहाँलाई अति उच्‍च पार्नुभयो र उहाँलाई त्‍यो नाउँ प्रदान गर्नुभयो, जो हरेक नाउँभन्‍दा उच्‍च छ। हरेक प्राणिले येशूको नाउँमा घुँडा टेक्‍नु पर्नेछ।” यस प्रसंगमा के उहाँको नाउँ साँच्‍चै उहाँका जनहरू हुन सक्‍लान त?

प्रकाश १ अध्‍यायमा यूहन्‍नाले ख्रीष्‍टको सर्वाङ्ग शरीर महिमित भएको देखेका थिए। उहाँको आवाज एक्‍लो आवाज थिएन तर धेरै पानीहरूको जस्‍तो आवाज थियो। यो येशूको शिर मात्र होइन तर यो त ख्रीष्‍टको पूर्ण शरीर थियो। यूहन्‍ना यसको पाउमा मरेको मान्‍छेजस्‍तै लमतन्‍न परेर पसारिएका थिए। येशूको शिरले आफ्‍नो पूर्ण शरीर प्राप्‍त गर्ने बेला आउँदैछ। यो शरीर नै नाउँ हो जसका अघि हर एक प्राणीले घुँडा टेक्‍नुपर्छ।

अन्‍य धर्मशास्‍त्रको वचनले ख्रीष्‍टको शरीरको अघि मानिसहरू निहुरिनेछन् भनि सङ्केत गर्छ। प्रकाश ३:९ ले भन्‍छ, “शैतानको सभाघरका झुटा बोल्‍नेहरूलाई म आएर तिम्रा चरणमा ढोग्‍न लाउनेछु।” यशैया ४५:१४ ले भन्‍छ, “तिनीहरू तेरो सामु झुक्‍नेछन् र तिनीहरूले तेरो सामुन्‍ने बिन्‍ती गर्नेछन्।” यशैया ४९:२३ र ६०:१४ दुबै समान छन्।

अनेकौँ धर्मका मानिसहरू शारीरिक रूपले आफ्‍ना शरीरलाई लमतन्‍न पसारेर तिनीहरूका पवित्र स्‍थानमा ढोंगीजस्‍तो हुने छैन, बरु यो त मानिस रूपमा प्रकट हुनु भएको परमेश्‍वरको अघि प्रत्‍यक्ष भेटेर आत्‍मामा झुक्‍ने मानिसजस्‍तै हुनु हो। जब शेबाकी रानीले राजा सुलेमानलाई भेटिन् र तिनको बुद्धिको कुरा सुनेर राजाको धन सम्‍पतिलाई देख्‍दा तिनी वेहोश भएकी थिइन् भनी हामी पढछौँ। तिनी आश्‍चर्य, श्रद्धा, प्रशंसा र प्रेमद्वारा पूर्ण रूपले पराजित भएकी थिइन्।

उपसंहार - समाप्‍ति

परमेश्‍वरले हाम्रो लागि उदेकका उद्देश्‍यहरू राखेर बोलाउनु भएको कुरा विचार गर्दा हामी उहाँको योजनाबाट चुकिसकेको कुरा स्‍वीकार्न सक्‍छौँ। हामी स्‍वभावैले उहाँको नाउँ बन्‍न पृथ्‍वीमा मात्र नभई स्‍वर्गमा पनि उहाँको प्रतिनिधि हुन पूर्ण रूपमा असक्षम र अयोग्‍य भएका छौँ।

हामीहरूले भन्‍दा परमेश्‍वरले अझ सफासँग देख्‍नु र जान्‍नु हुन्‍छ, र हाम्रो लागि योजनाहरूको प्रबन्‍ध गरिदिनुहुन्‍छ। बदल्‍नु र परिर्वतन गर्ने काम हाम्रो होइन तर उहाँको हो। उहाँले हाम्रो जीवनमा पहिले भएको अनुभवभन्‍दा गहिरो र अझ ठूलो परिवर्तन हुने काम गर्नु हुँदा हामीले अचम्‍म मान्‍नु हुँदैन र यो कामले हामीलाई मानिसबाट अलग गर्छ। हामी उहाँका साँचो प्रतिनिधि हुनभन्‍दा अघि उहाँले हाम्रो सम्‍पूर्ण शारीरिक स्‍वभावमा काम गर्नु पर्छ।

हामी हाम्रो मुक्तिदाताको मृत्‍यु र पुनरुत्‍थानमा प्रवेश गर्छौँ। हामी उहाँको सतावट, दु:ख र अपमानमा सहभागि हुनेछौँ र उहाँसँगै दु:ख भोगी सकेपछि हामी उहाँसँगै शासन गर्न तयार हुनेछौँ। तब पावल, ख्रीष्‍ट येशूमा परमेश्‍वरको उच्‍च बोलावट तर्फ लम्‍किए जस्‍तै हामी पनि अघि बडौं।

यो पुस्‍तकलाई रंगिन [Color] छाप्‍ने फाइल

यो पुस्‍तकलाई श्‍याम-स्‍वेत [Black & White] छाप्‍ने फाइल

कसरी छाप्ने