अगमवक्ता इजकिएल र प्रकाशको पुस्तकमा यूहन्नाले चार वटा जीवित प्राणीहरूका दर्शन देखे। तिनीहरू दुवैले आफ्ना दर्शनमा सिंह, गोरु, मानिस र उडिरहेको गरुड देखे। परमेश्वरको अचम्मलाग्दो अलौकिक रूपरेखाअनुसार यी चार वटा प्राणीहरू नयाँ करारको चार वटा सुसमाचारीय पुस्तकहरूसँग मेल खान्छ। मत्तीले येशूको जीवन कथा लेख्दा उहाँलाई सिंहसँग मेल खाने राजाको रूपमा चित्रण गरेका छन् । मर्कूसले उहाँलाई गोरुको स्वजभावसँग मेल खाने सेवकको (अथवा दासको) रूपमा प्रस्तुरत गरेका छन्। लूकाको दृष्टिलकोणमा चाहिँ येशू मानिस हुनुहुन्छँ। त्यस्तैव प्रकारले यूहन्नाले उहाँलाई माथि आकाशमा उड्ने गरुडसँग मेल खाने परमेश्वसरको रूपमा प्रस्तुत गरेका छन्।
येशू राजा र सेवक अनि मानिस र परमेश्वर हुनुहुन्छ भन्ने कुरा स्वभाविक विचारधारा भएकाहरूलाई छक्क पार्ने प्रकाश हो। योभन्दा पनि अझ छक्कलाग्दो प्रकाशचाहिँ चार वटा जीवित प्राणीहरूको दर्शनमा लुकेको छ। केवल येशूमात्र राजा र सेवक अनि मानिस र परमेश्वर हुनुहुन्न बरु उहाँका अनुयायीहरूले पनि त्यही सौभग्यको लागि बोलावट पाएका छन्। तिनीहरू पनि राजाहरू र सेवकहरू अनि मानिसहरू र उहाँको ईश्वरीय स्वभावको सहभागीहरू हुन्।
चार वटा जीवित प्राणीहरू भन्ने लेखमा मैले यस विषयलाई विस्तृत रूपमा वर्णन गरेको छु। यो लेखले त्यही ‘चार वटा जीवित प्राणीहरू’ भन्ने लेखको अवधारणालाई पछ्याउने भएकोले गर्दा, त्यो लेख पढिसकेकाहरूले यो लेख अझ स्पष्टगरी बुझ्नेछन्। यो लेखचाहिँ चौथो जीवित प्राणी अथवा उडिरहेको गरुडमा केन्द्रित छ र त्यसैलाई यसले गहन रूपमा व्याख्या गर्दछ। उडिरहेको गरुडले शिर हुनुभएको येशूलगायत उहाँको शरीरको सदस्यहरूलाई परमेश्वरको स्वरूपमा चित्रण गर्दछ।
बलिरहेको पोथ्राको सामु खडा भएर मोशाले परमेश्वरलाई “हजुरको नाउँ के हो?” भनी सोधे। परमेश्वरले यसरी उत्तर दिनुभयो, “म हुँ, जो म हुँ।” हिब्रू भाषाको म हुँ (אֶהְיֶה (एह्ये)) शब्दबाट यह्वेह (Yahweh) भन्ने नाउँ आयो। त्यसकारण, यह्वेह भनेको ‘म हुँ’ हो।
विगत अनि वर्तमान समयका यहूदीहरूका लागि ‘म हुँ’ भन्ने शब्द ईश्वरीय नाउँको अंश (भाग) हो र यसलाई अति पवित्र मानिन्छ। दश आज्ञाहरूमध्येको तेस्रो आज्ञामा यस्तो लेखिएको छ: “परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थमा नलिनू, किनकि उहाँको नाउँ व्यर्थैमा लिनेलाई परमप्रभुले निरपराध ठहराउनु हुनेछैन” (प्रस्थान २०:७)। यो आज्ञा उल्लङ्घन हुने डरले गर्दा यहूदीहरूले त्यो नाउँलाई उच्चारण पनि गर्दैनन्। मुख खोलेर धर्मशास्त्र पाठ गर्दा त्यो नाउँको सट्टामा एदोनाइ (Adonai) जसको अर्थ “प्रभु” हो अथवा हा-शेम (ha-shem) भन्ने शब्द राख्दछन्, जसको अर्थ “नाम” हो।
परमेश्वरको नाउँ र येशूको नाउँ हेर्नुहोला।
के येशूले यहूदीहरूका उक्त परम्परालाई अनुसरण गर्नुभयो? अहँ, उहाँले त्यसो गर्नुभएन। यो अध्ययनको आधार- यूहन्नाको पुस्तकमा ‘म हुँ’ भन्ने शब्द येशूको मुखबाट २१ पटक व्यक्त भएको पाइन्छ।
साँच्चै भन्ने हो भने हामी साधारण कुराकानी गर्दा “म हुँ” भन्ने शब्द प्रयोग गर्ने गर्दछौँ। कुनै व्यक्तिले “राजु भनेको व्यक्ति म हुँ” अथवा “शिक्षक भनेको म हुँ” भन्नसक्छ, तर त्यसले ऊ परमेश्वर हो भन्ने कुरातर्फ सङ्केत गर्दैन। येशूले शब्दहरूलाई कसरी प्रयोग गर्नुभयो भन्ने तरिकालाई हामीले गहन रूपमा हेर्नु आवश्यक छ।
कहिलेकाहीँ येशूले ‘संसारको ज्योति म हुँ’ अथवा ‘बाटो, सत्य र जीवन म हुँ’ जस्ता छ्क्क पार्ने अभिव्यक्तिहरूद्वारा आफ्नो बारेमा बताउन “म हुँ” भन्ने शब्द प्रयोग गर्नुभयो। पछि हामी उहाँको यस्ता दाबीहरूलाई एक-एक गरी हेर्नेछौँ। कहिलेकाहीँ उहाँले आफ्नो बारेमा केवल “म हुँ” भन्ने शब्दमात्र प्रयोग गर्नुभयो। यूहन्ना ८:२४ मा उहाँले यहूदीहरूलाई “म हुँ भनेर तिमीहरूले विश्वास गरेनौ भने आफ्ना पापमा मर्नेछौ” भनी भन्नुभयो। केही सयमपछि यहूदीहरूसँग वहस हुँदा उहाँले यहून्ना ८:५८ पदमा “अब्राहाम हुनुभन्दा अघिबाटै म हुँ” भनी भन्नुभयो। त्यसबेला तिनीहरूको प्रतिक्रिया कस्तो थियो त? तिनीहरूले उहाँलाई हिर्काउन ढुङ्गाहरू उठाए किनभने उहाँले तिनीहरूको सामु आफूलाई परमेश्वर हुँ भनेर दाबी गर्नुभएको थियो। उहाँले दश आज्ञाहरूमध्येको तेस्रो आज्ञालाई सोझै उल्लङ्घन गर्नुभयो। मोशाको व्यवस्थाअनुसार त्यसो गरेमा ढुङ्गाले हानेर मारिने गरिन्थ्यो।
उक्त घटनाको केही समयपछि यहूदीहरूले फेरि उहाँलाई ढुङ्गाले हान्न कोसिस गरे। त्यसको कारण पनि पहिलेकै जस्तो थियो। उहाँले “पिता र म एक हौँ” भन्नुभयो (यूहन्ना १०:३०)। “हामीहरूले तिमीले गरेका असल कामहरूका निम्ति ढुङ्गाले हान्न खोजेका होइनौँ तर तिमीले आफैलाई परमेश्वर बनाउन खोजेर ईश्वर-निन्दा गरेको कारणले हो” भनी यहूदीहरूले आफ्ना मनमा भएका तर्कलाई स्पष्ट रूपमा व्यक्त गरे।
येशूले प्रत्यक्ष रूपमा कहिल्यै पनि “म परमेश्वर हुँ” भनी भन्नुभएन। तर जुन शब्दहरू उहाँले व्यक्त गर्नुभयो, श्रोताहरूलाई त्यसको अर्थ त्यही नै हुनगयो।
येशूले आफैलाई कस्तो दृष्टिकोणले हेर्नुहुन्थ्यो भन्ने कुरा हामी बुझ्नसक्छौँ। उहाँलाई आफ्नो व्यक्तित्व र परिचय राम्ररी थाहा थियो। उहाँ पितासँग एकै [एकतामा] हुनुहुन्थ्यो भन्ने कुरा येशूलाई थाहा थियो। अब उहाँले आफ्नो अनुयायीहरूलाई कस्तो दृष्टिकोणले हेर्नुहुन्थ्यो भन्ने बारेमा हामीले प्रश्न गर्नुपर्दछ।
उहाँले आफ्ना चेलाहरूलाई भन्नुभएको कुराहरू पढ्दाखेरि, तिनीहरूलाई उहाँले सधैँ आफ्नै स्तरमा राख्नुहुन्थ्यो भनेर पत्ता लगाउनसक्छौँ। पहिले “पिता र म एक हौँ” भनी उहाँले भन्नुभयो (यूहन्ना १०:३०)। त्यसको केही समयपछि उहाँले “तिनीहरू सबै एकै होऊन्, हे पिता, जसरी तपाईं ममा हुनुहुन्छ, र म तपाईंमा, त्यसरी तिनीहरू पनि हामीमा होऊन्” भनेर आफ्ना चेलाहरूका निम्ति प्रार्थना गर्नुभयो (यूहन्ना १७:२१)।
येशूले परमेश्वरलाई आफ्नो बुबा मान्नुहुन्थ्यो। अब उहाँका चेलाहरूका बारेमा चाहिँ के भन्ने त? के परमेश्वर तिनीहरूका पनि बुबा हुनुहुन्थ्यो त? उहाँले तिनीहरूले, “हे हाम्रो पिता” भनी प्रार्थना गर्न सिकाउनुभयो (मत्ती ६:९)। “मेरा भाइहरू (बहिनीहरू) -कहाँ गएर तिनीहरूलाई भनिदेऊ- म मेरा पिता र तिमीहरूका पिता, र मेरा परमेश्वर र तिमीहरूका परमेश्वरकहाँ गइरहेछु” भनी उहाँले भन्नुभयो (यूहन्ना २०:१७)।
येशू परमेश्वरको छोरा हुनुहुन्थ्यो। उहाँले बप्तिस्मा लिँदाखेरि पवित्र आत्मा ढुकुरको रूपमा उहाँमाथि ओर्लिआउनुभयो, र परमेश्वरले यसो भन्नुभयो, “यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्न छु” (मत्ती ३:१७)। यी शब्दहरू हामीले थुप्रै पटक सुने तापनि सायद त्यसको सही तात्पर्य अझै बुझ्न सकेका छैनौँ। पुरानो करारको इतिहासभरि कुनै व्यक्तिले कहिले पनि आफूले आफैलाई अथवा अरूले उसलाई परमेश्वरको छोरा भनी वर्णन गरेको भेट्टाउन सकिँदैन। त्यसैले त्यो कुरा पूर्ण रूपमा नयाँ अनि ठूलो परिवर्तन [हलचल] ल्याउने खालको थियो।
पुत्रत्वको अधिकार केवल येशूको लागिमात्र सुरक्षित राखिएको थियो अथवा त्यो अधिकार उहाँका अनुयायीहरूका लागि पनि उपलब्ध थियो? यूहन्नाको सुसमाचारको पुस्तकको सुरुवातमा हामीले यी कुराहरू भेट्टाउँदछौ: “जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो” (यूहन्ना १:१२)। पावलले त्यस कुरालाई अझ स्पष्ट पारे, “तिमीहरू पुत्र भएको हुनाले परमेश्वरले आफ्नो पुत्रको आत्मा हाम्रा हृदयमा पठाइदिनुभयो, जसले “हे अब्बा, पिता!” भनेर पुकार्नुहुन्छ” (गलाती ४:६)।
त्यसकारण, येशूका शब्दहरू स्पष्ट नै छन्। परमेश्वर हाम्रो बुबा हुनुहुन्छ। हामी उहाँका छोराछोरीहरू हौँ। येशू हामीहरूको दाजु हुनुहुन्छ। हामीहरू सबै एकै परिवारका सदस्यहरू हौँ।
धर्मशास्त्र र हाम्रो आफ्नै अनुभवअनुसार प्रत्येक प्राणी र बोट-बिरुवाले आफ्नो-आफ्नो जातको सन्तान उत्पादन गर्दछ। उत्पत्ति १ अध्यायमा यो सत्य तथ्यलाई कम्तीमा ५ पटक उल्लेख गरिएको छ, जस्तै: जनावरहरूले आफ्नो-आफनो जातको … बोट-बिरुवाहरू आफ्नो-आफ्नो जातको… चरा-चुरुङ्गीहरू आफ्नो-आफ्नो जातको…आदि। परमेश्वरले येशूलाई उहाँको छोरा भनी घोषणा गर्नुहुँदा, उहाँले आफ्नै जातको सन्तान उत्पादन गर्नुभएको थियो। येशूसँग परमेश्वको जस्तै स्वभाव र गुणहरू थिए। साँच्चै, येशू परमेश्वरको छोरा हुनुहुन्थ्यो र अहिले पनि हुनुहुन्छ।
परमेश्वर एउटा मात्र छोरामा सन्तुष्ट हुनुभएन। उहाँले आफ्नो जातको धेरै सन्तानहरू भएको चाहनुहुन्छ। उहाँले आफ्नोजस्तै स्वभाव र गुणहरू भएको धेरै छोराछोरीहरू उत्तराधिकारी भएको चाहानुहुन्छ। उत्पत्तिको पुस्तकमा उल्लेख गरिएअनुसार परिवार बनाउने उहाँको सुरुको उद्देश्य थियो। उहाँले “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔँ” भन्नुभयो (उत्पत्ति १:२६)।
यूहन्नाको सुसमाचारीय पुस्तकमा येशूले आफ्नो बारेमा “म हुँ” भनेर भन्नुभएको छक्कलाग्दो अभिव्यक्तिहरूलाई हामीले हेरेका छौँ।
“जीवनको रोटी म हुँ” (यूहन्ना ६:३५), “म संसारको ज्योति हुँ” (यूहन्ना ८:१२), “म असल गोठालो हुँ” (यूहन्ना १०:११), “भेडाहरूको ढोका मै हुँ” (यूहन्ना १०:७), “पुनरुत्थान र जीवन म नै हुँ” (यूहन्ना ११:२५), “बाटो, सत्य र जीवन म नै हुँ” (यूहन्ना १४:६) र “साँचो दाखको बोट म हुँ” (यूहन्ना १५:१)।
हामी परिवर्तन भएर उहाँजस्तै हुँदा, के हामीले पनि त्यस्तै अभिव्यक्तिहरू दिनसक्छौँ त? हामी पनि “जीवनको रोटी”, “संसारको ज्योति”, “असल गोठालाहरू”, “ढोकाहरू”, “पुनरुत्थान” अनि “बाटो, सत्य र जीवन” हौँ भनी के हामी भन्नसक्छौँ?
स्वयम् आफूले मात्र केही पनि गर्नुभएन भन्ने कुरामा येशूले जोड दिनुभयो। उहाँमा वास गर्नुहुने परमेश्वरले नै सबै थोक गर्नुभयो। “म पितामा छु, र पिता ममा हुनुहुन्छ भनेर के तिमी विश्वास गर्दैनौ?” (यूहन्ना १४:१०)। उहाँ र पिता तिनीहरूमा वास गर्नुहुनेछ भनेर चेलाहरूलाई येशूले अचम्म प्रकारको प्रतिज्ञा गर्नुभयो। “जसले मलाई प्रेम गर्छ, त्यसले मेरो वचन पालन गर्नेछ र मेरा पिताले त्यसलाई प्रेम गर्नुहुनेछ, र हामी त्यसकहाँ आउनेछौँ, र त्यससँग वास गर्नेछौँ” (यूहन्ना १४:२३)
येशूमा भएको आत्मा हामीमा अर्थात् उहाँको जनहरूमा पनि हुनुहुन्छ। जीवनको रोटी, संसारको ज्योति, असल गोठालो, ढोका, पुनरुत्थान अनि बाटो, सत्य र जीवन नै येशूमा वास गर्नुहुने आत्मा हुनुहुन्थ्यो। हामीमा पनि वास गर्नुहुने आत्मा उही जीवनको रोटी, संसारको ज्योति, असल गोठालो, ढोका, पुनरुत्थान अनि बाटो, सत्य र जीवन हुनुहुन्छ।
“जीवनको रोटी म हुँ” भनेर येशूले “म हुँ” भन्ने पहिलो महान् अभिव्यक्ति दिनुभयो (यूहन्ना ६:४८)। येशू जीवनको रोटी हुनुहुन्छ। के हामी जीवनको रोटी हौँ अथवा हामी पनि जीवनको रोटी हुनसक्छौँ?
येशूले अन्तिम रात्रीभोजको समयमा रोटीको बारेमा फेरि चर्चा गर्नुभयो । “तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो। मेरो सम्झनामा यो गर्ने गर” (लूका २२:१९)। रोटी उहाँको शरीर हो भनी उहाँले भन्नुभयो। अब, उहाँको शरीर भनेको के हो त? उहाँको भौतिक शरीर यस पृथ्वीमा रहुन्जेल र अझ विशेष गरी उहाँ कलबरीको क्रूसमा हुनुहुँदा हाम्रो लागि दिइएको थियो। उहाँको आत्मिक शरीरचाहिँ हामी अर्थात् उहाँका जनहरू हौँ। पावलले कोरिन्थीहरूलाई “तिमीहरू ख्रीष्टको शरीर हौ” भनी लेखेका छन् (१ कोरिन्थी १२:२७) र कलस्सीहरूलाई “उहाँको शरीर, जुन मण्डली हो” भनी लेखेका छन् (कलस्सी १:२४)। उनले यस्तै कुराहरू रोमीहरू र एफिसीहरूलाई पनि लेखेका छन्। “रोटी एउटै हो, यसकारण धेरै भए तापनि हामी एउटै शरीर हौँ” भनी उनले रोटी र शरीरको सम्बन्ध देखाएका छन् (१ कोरिन्थी १०:१७)।
त्यसकारण, येशू रोटी हुनुहुन्छ। रोटी भनेको उहाँको शरीर हो र उहाँको शरीर भनेको चाहिँ उहाँका जनहरू हुन्। येशू उहाँका जनहरूका निम्ति दिइएको हो र उहाँका जनहरूचाहिँ संसारको निम्ति दिइएको हो। उहाँका जनहरू मानव जगतमा भोकाएका मानिसहरूका लागि जीवनको रोटी हुन्। तिनीहरूलगायत येशू, जो शिर हुनुहुन्छ, भोकाएको संसारको लागि खाना हो। ख्रीष्टको सम्पूर्ण शरीर अर्थात् शिर र उहाँका शरीरको सदस्यहरूले मात्र मानव जगतको त्यो आवश्यक्ता पूरा गर्नसक्छ।
गहूँका धेरै वटा दानाहरूलाई पिसेर एकै ठाउँमा मिलाएर रोटी बनाइन्छ। येशूले आफैलाई गहूँको दाना भन्नुभयो। “साँच्चै, म तिमीहरूलाई भन्दछु, गहूँको दाना माटोमा परेर मरेन भने त्यो एक्लो रहन्छ। तर त्यो मर्यो भने त्यसले धेरै फल फलाउँछ” (यूहन्ना १२:२४)। ती गहूँका धेरै दानाहरू नै उहाँको शरीर हो।
येशू हाम्रो लागि जीवनको रोटी हुनुहुन्छ। त्यसकारण, हामीमा हुनुभएको उहाँ अरू व्यक्तिहरूका लागि पनि जीवनको रोटी हुनुहुन्छ।
येशूले “म संसारको ज्योति हुँ” भनी भन्नुभयो (यूहन्ना ८:१२)। तर उहाँले “तिमीहरू संसारको ज्योति हौ” भनेर आफ्ना चेलाहरूलाई स्पष्ट गरी भन्नुभयो (मत्ती ५:१४)। उहाँले त्यो कुरा पुनरुत्थान भएपछि, पवित्र आत्मा दिइसक्नु भएपछि अथवा पृथ्वीमा शिक्षा दिइसक्नु भएपछि भन्नुभएको होइन । उहाँले तिनीहरूसँग गर्नुभएको सङ्गतिको सुरुवातमा नै तिनीहरूलाई संसारको ज्योति भन्नुभयो। त्यसबेला उहाँको विश्वासको आँखाले तिनीहरूमा भएको धेरै कमजोरी र असफलताहरूलाई नाघेर अगाडिको सिद्ध अनि पूर्ण रूपको सुन्दर सृष्टिलाई देख्न सक्नुभयो।
उहाँले विश्वाससहित हामीप्रति हेरेर यसो भन्नुहुन्छ, “तिमीहरू संसारको ज्योति हौ”।
येशूविना यो संसारको अवस्था र यहाँ भएका सबैजना अन्धकारमा छन्। उहाँ र उहाँको शरीर यस्तो ज्योति हो, जसले चम्केर सारा सृष्टिलाई उज्यालो दिन्छ। संसारको ज्योति येशूलाई हामीले ग्रहण गरेर अनि पछ्याएर हामीहरू पनि संसारको ज्योति बन्दछौँ।
यूहन्ना १० अध्यायको सुरुमा येशूले भन्नुभयो, “ढोकाबाट भित्र पस्नेचाहिँ भेडाको गोठालो हो।” निश्चय उहाँ आफै पनि नै ढोकाबाट भित्र पस्ने गोठालो हुनुहुन्थ्यो। पछि उहाँले ९ पदमा “ढोका म नै हुँ, यदि कोही मानिस मबाट भित्र पस्यो भने त्यो बचाइनेछ, र भित्र-बाहिर आउने-जाने गर्नेछ, र खर्कमा चर्न पाउनेछ” भन्नुभयो। त्यसैले, उहाँ गोठालो र ढोका दुबै हुनुहुन्छ।
रातको समयमा गोठचाहिँ भेडाहरूका लागि असल ठाउँ हो। त्यहाँभित्र तिनीहरूले सुरक्षा र न्यानो पाउने गर्दछन्। येशू गोठभित्र पस्ने ढोका हुनुहुन्छ। घाम उदाएर दिन सुरु भएपछि सबै कुरा परिवर्तन हुन्छ। त्यसपछि भेडाहरू गोठभित्र बसिरहन पर्दैन। तिनीहरू बाहिर जानैपर्छ। तिनीहरूले घाँस र पानी पाउनु पर्दछ साथै शारीरिक अभ्यास पनि गर्नुपर्दछ। फेरि येशू ढोका हुनुहुन्छ। उहाँविना बाहिरकाहरूलाई गोठभित्रको सुरक्षा र बस्ने ठाउँ पाउनको लागि अरू कुनै उपाय छैन।
उहाँविना गोठभित्र भएकाहरू बाच्न र वृद्धि हुनको बाहिर गएर अति आवश्यक हरियो घाँस पाउने कुनै उपाय छैन।
सर्वप्रथम, हामी येशू अर्थात् ढोका भएर गोठभित्र प्रवेश गर्दछौँ। त्यसपछि उहाँ (अर्थात् ढोका) बाट अनि उहाँ (अर्थात् गोठालो) सँग हामी बाहिर जान्छौँ। उहाँद्वारा भएर हामीहरू पनि ढोकाहरू बन्दछौँ र अरू मानिसहरू त्यसबाट गोठमा प्रवेश गर्न सक्छन् र भित्र-बाहिर आउने-जाने गरेर खर्कमा चर्न पाउनेछ।
येशूले “म असल गोठालो हुँ । असल गोठालाले आफ्ना भेडाहरूका निम्ति आफ्नो प्राण अर्पण गर्छ” भन्नुभयो (यूहन्ना १०:११)। पत्रुससँग येशूको अन्तिम कुराकानीमा उहाँले “मेरा भेडाहरूलाई खुवाऊ” भनेर भन्नुभयो (यूहन्ना २१:१६)। ग्रीक भाषामा त्यसको शाब्दिक अर्थ “मेरो भेडाहरूको गोठालो बन” भन्ने हुन्छ। त्यस कुराद्वारा पत्रुसले छोटो समयपछि आफ्नो जीवन दिनेछ भन्ने कुरा उहाँले सङ्केत गर्नुभयो।
पुरानो समयका महान् व्यक्तिहरूमध्ये दुइ जना गोठाला थिए। मोशा र दाऊद दुवैले भेडाहरू चराउँदै गर्दा परमेश्वरले उहाँका जनहरूको गोठाला बन्नको लागि तिनीहरूलाई बोलावट दिनुभयो।
आजभोलि हामीहरू साँचो गोठालाहरू र झूटा गोठालाहरू देख्दछौँ। भेडाको लागि आफ्नो प्राण दिन तयार हुनेहरू साँचो गोठालाहरू हुन्। कसैको लागि यो कुरा समर्पित जीवनको अन्तिम कार्य हुनसक्छ। सबै साँचा गोठालाहरूका निम्ति यो काम निरन्तर हुने दैनिक अनुभव हो।
पहिले हामीले असल गोठालोलाई चिन्नुपर्दछ, त्यसपछि हामी पनि असल गोठालाहरू बन्दछौँ।
पुनरुत्थान र जीवन म नै हुँ। मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित रहनेछ अनि जिउने र ममाथि विश्वास गर्ने प्रत्येक कहिल्यै मर्नेछैन। के तिमी यो विश्वास गर्छ्यौ? (यूहन्ना ११:२५, २६)
मृत्त अवस्थाको आफ्नो भाइ लाजरस चिहानमा हुँदा येशूले यी कुराहरू मार्थालाई भन्नुभयो। त्यसको एउटै अर्थ हुनसक्थ्यो- तिनको मरेको भाइको भौतिक पुनरुत्थान। लाजरस भौतिक मृत्युबाट भौतिक जीवनमा फर्केर आयो। केही दिनपछि स्वयम् येशू पनि त्यस्तै रूपमा देखा पर्नुभयो तर ती दुइ घटनाहरूमा ठूलो भिन्नता थियो। लाजरजजस्तै गरी येशू पुनरुत्थानपछि यस पृथ्वीमा भौतिक शरीरमा बसिरहनुभएन। तिनीजस्तै गरी येशू फेरि पनि मर्नुभएन।
लाजरसको पुनरुत्थान हुँदा येशूको वचनहरू पूर्ण भए तर त्यो शारीरिक रूपमा मात्र थियो। त्यो कुरा अति महान् अनि महत्त्वपूर्ण आत्मिक पुनरुत्थानको देखिने खालको भौतिक प्रकटीकरण थियो।
मृत्यु भनेको अलग हुनु हो। भौतिक मृत्यु शरीरबाट अलग हुनु हो। आत्मिक मृत्युचाहिँ परमेश्वरबाट अलग हुनु हो। आदममा परमेश्वरबाट अलग भएर सबैको आत्मिक मृत्यु भयो। तर ख्रीष्टमा परमेश्वरसँग आत्मिक मिलाप भएर सबै जना जीवित हुनेछन्। येशूमा भौतिक शरीरको अमरत्व उपलब्ध हुँदैन। बरु त्यसको सट्टामा उहाँले मानिसलाई परमेश्वरसँग पुनर्स्थापित र अनन्त एकतामा लानुहुन्छ। यसैलाई साँचो पुनरुत्थान र जीवन भनिन्छ।
येशू हाम्रो पुनरुत्थान र जीवन हुनुहुन्छ अनि पुनरुत्थान र जीवनको त्यो आत्मा हामीमा वास गर्नुहुन्छ।
येशूले “बाटो, सत्य र जीवन म नै हुँ” भन्नुभयो (यूहन्ना १४:६)। कुनै व्यक्तिले कसरी यति धेरै कुरा एउटा छोटो व्यक्यमा भन्नसक्छ? यी तीन शब्दहरूमध्ये प्रत्येकले ठूलो आत्मिक वास्तविकतातिर सङ्केत गर्दछ।
आजभोलि नेपालमा एउटा सहरदेखि अर्को सहरसम्म जोड्ने पक्की बाटोहरू उपबल्ध छन्। अरू देशहरूमा अझ धेरै बाटोहरू छन्। पुरानो समयमा येशूका चेलाहरूका मनमा एउटा मात्र महत्त्वपूर्ण बाटो थियो, जहाँबाट तिनीहरू गालीलदेखि यरूशलेम जाने गर्दथे। प्रत्येक हिँड्नसक्ने इस्राएली पुरुष त्यो बाटो भएर वर्षको तीनचोटि यरूशलेम जाने गर्दथे। “जुन ठाउँ परमप्रभु तिमीहरूका परमेश्वरले छान्नुहुनेछ, त्यहाँ वर्षमा तीन पल्ट तिमीहरूका सबै पुरुष उहाँको सामुन्ने देखा परून्” (व्यवस्था १६:१६)। यो पदअनुसार पछि परमेश्वरले त्यो ठाउँ यरूशलेम बनाउनुभयो। चेलाहरूले त्यो बाटो भएर धेरै पटक हिँडिसकेको हुनुपर्दछ र भर्खरै पनि येशूसगँ तिनीहरूले अन्तिम पटक त्यो बाटोमा हिँडे। गालीलका मानिसहरूलाई त्यो बाटोले पवित्र सहर र परमेश्वरको घरतिर लाने गर्दथ्यो।
त्यो यात्रा गर्नु भनेको तिनीहरूले आफ्नो घर-परिवार भएको सहर अथवा गाउँलाई छोडेर, केही समयको निम्ति आफ्नो काम पनि छोडेर करिव एक हप्ताको समय लगाएर त्यो महत्त्वपूर्ण गन्तव्यतिर जानुपर्दथ्यो। चेलाहरूले त्यो यात्रा गर्दा गालीलको तल्लो भागबाट उकालो लाग्दै यहूदियाका पहाडहरू पार गरेर यरूशलेममा पुग्दथे।
येशूले “म बाटो हुँ” भन्नुहुँदा श्रोताहरूको मनमा उक्त यात्राको चित्र आएको हुनुपर्दछ। त्यसबेला उहाँले पृथ्वीमा भएको पिताको घरको बारेमा बताउनुभएको होइन तर स्वर्गीय घरको विषयमा थियो।
हामीहरूको स्वभाविक अनुभवहरूको तल्लो स्तरको भागहरूबाट त्यो यात्रा सुरु हुँदछ। त्यो यात्रा लामो र कठिन पनि छ। त्यो यात्रामा नौलो अनि अपरिचित पहाडहरू र उपत्यकाहरू पार गर्दै उकालो लागेर अन्त्यमा हामीहरू पिताको घरमा पुग्दछौँ।
येशू हाम्रो लागि बाटो हुनुहुन्छ, र उहाँ हामीमा अनि हामी उहाँमा भएर अरूहरूको निम्ति पनि बाटो बन्दछौँ।
“सत्य भनेको के हो” भनेर पिलातसले प्रश्न गर्यो। येशूले उसलाई कुनै उत्तर दिनुभएन। त्यसको उत्तर प्रश्नभित्रै लुकिएको थियो भन्ने कुरा पुराना समयका केही मानिसहरूले विश्वास गर्दथे। पिलातसले बोलेको ल्याटिन भाषामा त्यो प्रश्न “Quid est veritas?” थियो। (पिलातस रोमी व्यक्ति थियो अनि रोमीहरूको भाषा ल्याटिन थियो)। यस वाक्यको अक्षरहरूलाई पुनर्मिलान गरेमा “Est vir qui adest” हुन आउँदछ। अब यसको अर्थ- “उपस्थित हुने व्यक्ति उही हो” भन्ने हुन आउँछ। यो कुरा सत्य भए पनि नभए पनि त्यसको निष्कर्षचाहिँ एकदमै ठीक छ। सत्य व्यक्तित्व भएको मानिस नै पिलातसको सामु उभिएको थियो। यदि उसले मानिसको स्वरूपमा आउनुभएको सत्यतालाई चिन्न सकेन भने यशूले बोलनुभएको कुनचाहिँ शब्दहरूले उसलाई प्रकाश दिन सक्थे र?
येशूले बोल्नुभएको प्रत्येक शब्द सत्य थियो। तर सत्यता शब्दहरूमा मात्र सीमति हुँदैन। येशूले गर्नुभएको प्रत्येक काम पनि सत्य थियो। येशूको प्रत्येक काम, प्रत्येक हाउभाउ, उहाँको अनुहारको प्रत्येक रूपले सत्यता प्रकट गर्दथ्यो। उहाँले सत्य बोल्नुभयो, उहाँले सत्यताको जीवन जिउनुभयो र उहाँ नै सत्य हुनुहुन्थ्यो। त्यसैले गर्दा उहाँले परमेश्वरको वचन बोल्नुभयो, परमेश्वरको वचनमा जिउनुभयो र उहाँ नै परमेश्वरको वचन हुनुहुन्थ्यो। येशूमा भएको आत्मा सत्यताको आत्मा थियो।
येशूभित्र भएको उही आत्मा उहाँको शरीरमा पनि छ। त्यसको सदस्यहरूले पनि सत्य कुरा बोल्नेछन्, सत्य काम गर्नेछन् र सत्य नै हुनेछन्। तिनीहरू बाँकी रहेका मानव जगतको निम्ति सुसमाचारीय जीवन जिएर परमेश्वरलाई प्रदर्शन गर्नसक्ने व्यक्तिहरू हुन्। येशू सत्य हुनुभएझैँ, हामी पनि सत्य हुँदैछौँ। जीवन
येशूले दुइचोटि “म जीवन हुँ” भनेर भन्नुभयो। (यूहन्ना ११:२५, १४:६)। जीवन के हो भन्ने आत्मिकी रहस्य हामी कसरी बुझ्नसक्छौँ?
भौतक जीवन भनेको आत्मा, प्राण र शरीर सम्मिलिनको अवस्था हो। मृत्युद्वारा यो सम्मिलनको अवस्था अन्त्य हुन्छ। जिउँदो व्यक्तिले शारीरक र मानसिक थुप्रै प्रकारका कामहरू गर्नसक्छ। तिनीहरू खान, पिउन, सुत्न, हिँड्न र दगुर्न सक्छन्। त्यस्तैगरी तिनीहरू बोल्न, विचार गर्न, हाँस्न र रुन पनि सक्छन्। मृत्युमा यी सबैखालका क्रियाकलापहरू अन्त हुन्छ। त्यसबेला प्राण र आत्माले शरीरलाई छोड्छ र उसको भौतिक परिचय पूर्ण रूपमा नहराएसम्म त्यो टुक्रिरहन्छ। हामीले मानिसको जीवनको सुरुवात र अन्त्यलाई नियन्त्रण गर्न सक्दैनौँ।
मानिसको भौतक जीवन आत्मिक जीवनको चित्र (छाया) हो। परमेश्वरसँग सम्मिलित हुनु आत्मिकी जीवन हो। उहाँसँग अलग हुनुचाहिँ आत्मिकी मृत्यु हो। अब अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्वरलाई चिनून्, र तपाईंले पठाउनुभएको येशू ख्रीष्टलाई चिनून् (यूहन्ना १७:३)।
आत्मिकी जीवनको सुरुवात आत्मकी जन्म हो। त्यसपछिमात्र सबै आत्मिकी क्रियाकलापहरू सम्भव हुन्छ। हामी आत्मामा खान, पिउन, हिँड्न र बोल्नसक्छौँ। हामीले परमेश्वरसँग प्रार्थना गर्न र उहाँलाई आराधना गर्नसक्छौँ।
येशूले हामीलाई आत्मिकी जीवन दिनुहुन्छ। येशूले हामीलाई यो जीवन दिनुमात्र हुँदैन तर उहाँ स्वयम् जीवन हुनुहुन्छ। हामीले उहाँलाई ग्रहण गर्दाहुँदि हामीले जीवन पाउँछौँ।
उहाँले आफ्ना चेलाहरूलाई यसो भन्नुभयो, “तिमीहरूलाई ग्रहण गर्नेले मलाई ग्रहण गर्दछ, र मलाई ग्रहण गर्नेले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ” (मत्ती १०:४०)। हामीहरू उहाँमा छौँ अनि उहाँ हामीमा हुनुहुन्छ। त्यसको अर्थ हामीलाई ग्रहण गर्नेहरूले उहाँलाई पनि ग्रहण गर्दछ। तिनीहरूले उहाँलाई ग्रहण गर्दाहुँदि तिनीहरूले जीवन पाउँदछन्।
येशूमा र हामीमा हुनुहुने ख्रीष्टको आत्मा नै आत्मिकी जीवन हो।
येशूले “दाखको बोट म हुँ, तिमीहरूचाहिँ हाँगाहरू हौ” भन्नुभयो (यूहन्ना १५:५)। उहाँले “म हुँ” भनेर भन्नुभएको यो अन्तिम अभिव्यक्ति थियो। यी शब्दहरू उहाँले आफू मर्नुभन्दा अघिल्लो रातमा दिनुभएको लामो प्रवचनको मध्य भागतिर भन्नुभएको थियो। पवित्र आत्मा पाएपछि चेलाहरूमा के भिन्नता हुनेछ भन्ने कुरा त्यो प्रवचनको मुख्य विषय थियो।
इस्राएलको भूमिमा भएका सबै प्रकारका रूखहरूमध्ये येशूले दाखको बोट छान्नुभयो। उहाँले “म खजुरको रूख हुँ, तिमीहरू हाँगाहरू हौ” भनी सजिलै भन्न सक्नुहुन्थ्यो। खजुर र दाखको बोट दुवैले फलाउँछ तर तिनीहरूको स्वरूपचाहिँ निकै नै फरक हुन्छ। खजुरको रूखको लामो अनि मोटो काण्ड हुन्छ र खजुरको रूखमा लामो अनि मोटो काण्डe हुन्छc र त्यसको हाँगाहरू साना-साना र हेर्दाखेरि झण्डै पातहरूजस्तै मात्र देखिन्छान्। त्यो रूखको काण्ड र हाँगाहरू पूर्ण रूपमा फरक देखिन्छ। दाखको बोट हाँगै-हाँगाहरू मिलेर बनेको हुन्छ र त्यसको मुख्य काण्डलाई छुट्ट्याउन गाह्रो हुन्छ। अर्को शब्दमा भन्ने हो भने दाखको बोट हाँगाहरूका समूह हो।
खजुरको रूख येशू र उहाँका चेलाहरूको राम्रो चित्र हुनसक्छ भन्ने कुरा हामी सजिलै विचार गर्नसक्छौँ। त्यसको लामो अनि बलियो काण्डले येशूको प्रतिनिधित्व गर्दछ र टुप्पामा भएको पातहरूको झुप्पाले चाहिँ उहाँका चेलाहरूको प्रतिनिधित्व गर्दछ। तर उहाँ र हामीलाई चित्रण गर्नको लागि येशूले त्यो चित्र छान्नुभएन। त्यसको निम्ति उहाँले पूर्ण रूपमा हाँगा नै हाँगाहरू भएको दाखको बोटलाई छान्नुभयो। हामीहरू सम्पूर्ण रूपमा उहाँसँग एक समान छौँ। उहाँ दाखको बोट हुनुभए तापनि हाँगाजस्तै देखिनुहुन्छ र हामीहरू पनि हाँगाहरू नै हौँ। हामीहरू उहाँको एक भागजस्तै गरी उहाँमा नै छौँ।
यूहन्ना १५:४ मा येशूले “ममा रहो, र तिमीहरूमा रहनेछु” भनी भन्नुभएको कुरालाई दाखको बोटले स्पष्ट रूपमा चित्रण गर्दछ। हाम्रो परिचय उहाँको भन्दा फरक छैन। यदि हामी उहाँमा र उहाँ हामीमा हुनुहुन्छ भने हामी र उहाँ उस्ता-उस्तै छौँ। यदि उहाँ परमेश्वरको छोरा हुनुहुन्छ भने हामीहरू पनि परमेश्वरका छोराहरू (छोरीहरू) हौँ। यदि उहाँ जीवनको रोटी हुनुहुन्छ भने हामीहरू पनि जीवनको रोटी हौँ। यदि उहाँ संसारको ज्योति हुनुहुन्छ भने हामीहरू पनि संसारको ज्योति हौँ। यदि उहाँ बाटो, सत्य र जीवन हुनुहुन्छ भने हामीहरू पनि बाटो, सत्य र जीवन हौँ।
परमेश्वरले यी कुराहरूद्वारा हामीमा महिमित वास्तविक बनाउनु भएको होस्!
अन्त्यमा, यहूदीहरूलाई क्रोधित तुल्याउने यी शब्दहरू हामी हेर्नेछौँ। अब्राहाम यस पृथ्वीमा हुनुभन्दा अघि येशूको अस्तित्व थियो। येशूमा विश्वास गर्ने कुनै मानिसले यस कुरामा सङ्का गर्दैन।
के हामी पनि अब्राहाम यस पृथ्वीमा आउनुभन्दा अघि अस्तित्वमा थियौँ त? आज-भोलि धेरै मानिसहरूले हामी पनि त्यसबेला अस्तित्वमा थियौँ भन्ने कुरामा विश्वास गर्दछन्।
यस विषयमा धर्मशास्त्रले के भन्दछ त?
उपदेशकको पुस्तकले स्पष्ट घोषणा गरेको छ: जमिनबाट आएको धूलो जमिनमै फर्कन्छ र आत्मा दिनुहुने परमेश्वरकहाँ आत्मा फर्कन्छ (उपदेशक १२:७) । यहाँ फर्कनु भन्ने शब्दको अर्थ जहाँबाट आएको हो फेरि त्यहाँ जानु भन्ने हुन्छ।
केही परिचित बाइबल खण्डहरूले यस विषयमा बलियो आसय व्यक्त गरेको छ।
पावलले अविश्वासीहरूका अवस्था व्याख्या गर्न यसरी लेखेका छन्: “यसकारण, पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई ख्रीष्टसँगै जीवित पार्नुभयो” (एफिसी २:५)। यूहन्नाले पनि त्यस्तै कुरा लेखेका छन्: “हामी जान्दछौँ, कि हामी त मृत्युबाट पार भएर जीवनमा सरिसकेका छौँ” (१ यूहन्ना ३:१४)। पावल र यूहन्ना दुवै जनाको विचारअनुसार अविश्वासीहरू मृत अवस्थामा छन्। मृत भन्ने शब्दको अर्थ जीवन त्यागेको हो। अर्को शब्दमा भन्ने हो भने तपाईं मर्नको लागि त्योभन्दा पहिले जिउँदो अवस्थामा हुनु आवश्यक छ। जब तपाईंले कुनै मरेको जनावर अथवा चरालाई देख्नुहुन्छ भने त्यो पहिले अवश्य जिउँदो थियो भनेर थाहा गर्न सक्नुहुन्छ। विश्वास नगर्ने मानिस मृत अवस्थामा छ भन्ने धर्मशास्त्रको सैद्दान्तिको अर्थ मानिस पहिला अर्को स्थानमा जिउन्दो थियो।
“उहाँको सामुन्ने पवित्र र निष्कलङ्क होऔँ भनेर संसारको उत्पत्तिभन्दा अघिबाटै उहाँले हामीलाई चुन्नुभयो” भनी पावलले लेखेका छन् (एफिसी १:४)। के हामी अस्तित्वमा आउनुभन्दा पनि अघि चुनिएका हौँ त? यो कुरा सम्भव छ, तर यदि पृथ्वीको जग निर्माण हुनुभन्दा पहिले नै हामीहरूको अस्तित्व थियो र त्यही समयमा हामीहरू छानिएका थियौँ भनेर भन्दा यस कुराले निश्चय नै झन् राम्रो अर्थ दिन्छ। हाम्रो अहिलेको जीवन दुइ वटा अनन्तहरू बीचको छोटो समयको लागि मात्र बस्ने ठाउँ हो। मैले यस विषयलाई पूर्व-अस्तित्व Pre-existence भन्ने लेखमा विस्तृत रूपमा व्याख्या गरेको छु।
यूहन्ना र इजकिएलले दर्शनहरू देखे। आत्मामा तिनीहरूसँग ख्रीष्टको सिद्ध शरीरको चित्र थियो। तिनीहरूले परमेश्वरको योजना र विशेष नक्साअनुसारको भविष्यको महिमित वास्तविकताको तस्वीर देखे। आदिदेखि अन्त्यसम्म देख्नुहुने परमेश्वरले त्यसको सम्पूर्ण चित्र देख्नुहुन्छ। तिनीहरूले उहाँको आँखाद्वारा ती कुराहरू देख्न पाउने सौभाग्य पाए।
चेलाहरूको अवस्था कस्तो हुन लागेको थियो भन्ने कुरा येशूले विश्वासको आँखाले देख्नुभयो। तिनीहरूले आत्मिक यात्राको पहिलो कदम उठाइरहेको बेलामा “तिमीहरू संसारको ज्योति हौ” भनी येशूले भन्नुभयो। त्यसबेला तिनीहरूमा प्रसस्त कमजोरीहरू थिए। हामीहरूमा भएको कमजोरीहरूलाई उहाँले देख्न सक्नुहुन्छ भन्ने कुरामा कुनै सङ्का छैन। येशूले तिनीहरूलाई विश्वास गर्नुभयो र तिनीहरू के हुन लागिरहेका थिए भन्ने कुरा विश्वासमा बोल्नुभयो। त्यो कुरा परमेश्वरको दृष्टिमा आइसकेको थियो।
ख्रीष्टको शरीरको पूर्ण रूप अझै हामीले देखेका छैनौँ। निर्माण हुँदै गरेको भवन हामी अहिले देख्छौँ। हामीले भवन बन्दै गरेको ठाउँमा माटो, ढुङ्गा, इँटाका टुक्राहरूरू चारैतिर छरिएको देख्दछौँ। हामीहरूले आफ्नो असफलताहरू, पापहरू र कमजोरीहरूलाई देख्नसक्छौँ अनि हामी कहिल्यै पनि संसारको ज्योति, जीवनको रोटी, बाटो, सत्य र जीवन बन्न सक्दैनौँ भनी विचार गर्दछौँ। तर परमेश्वरले त्यसो गर्नुहुन्न। उहाँले पूर्ण भएको सिद्ध भवन देख्नुहुन्छ। उहाँले हामीलाई हेर्नुहुँदा, येशूले चेलाहरूलाई हेर्नुभएको जस्तैगरी हामीहरू के हुन लागिरहेका छौँ, त्यो देख्नुहुन्छ। येशूले विश्वाससाथ भन्नुहुन्छ, “यसकारण जस्तो तिमीहरूका स्वर्गमा हुनुहुने पिता सिद्ध हुनुहुन्छ, तिमीहरू पनि त्यस्तै सिद्ध हुनुपर्दछ” (मत्ती ५:४८)। परमेश्वरको महान् बोलावटको इनाम पाउनको लागि हामी येशू ख्रीष्टमा हुँदै अगाडि बढ्नुपर्दछ।
यो पुस्तकलाई रंगिन [Color] छाप्ने फाइल
यो पुस्तकलाई श्याम-स्वेत [Black & White] छाप्ने फाइल